धनकुटा । व्यक्तिगत प्रयोजनमा प्रयोग भएको मोरङ्गको एक सरकारी कार्यालयको मोटरसाईकल धनकुटा प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । सुनबर्षा नगरपालिका वडा नं.४ को वाडाध्यक्ष श्रवण राजवंशिले प्रयोग गरिरहेको को.१ ब.१३६३ नम्बरकाे मोटरसाईकल ड्यूटिमा रहेका प्रहरी जवानहरु बालेश्वर यादव र ढुंडिराज खत्रीले नियन्त्रणमा लिएका थिए । सुनवर्षा नगरपालिका वडा नं.४ का वडाध्यक्ष श्रवण कुमार राजवंशीले प्रयोग गर्ने गरेको उक्त मोटरसाईकल उनका छोरा सहित अन्य ३ जना सवार भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाईकल प्रहरीले धनकुटा नगरपालिका वडा नं.७ स्थित् परिचय मोडको छेउको गोलाईमा नियन्त्रणमा लिएको थियो । एउटै मोटर साईकलमा तीनजना चढेर लोक सेवाको परिक्षा दिन धनकुटा आएको बेला उनीहरु प्रहरीको फन्दामा परेका थिए । प्रहरीले पक्राउ गरेको मोटरसाईकलको विलबुक तथा कागजात नभएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।