विराटनगर । सुन तस्करी र उर्लाबारी शनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई जिल्ला अदाल मोरङले काठमाडौं लैजान अनुमति दिएपछि उनीहरुलाई पठाएको छ ।

मोरङ कारागारमा रहेका गोरे, डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई र भुम्का कारागारमा रहेका भुजुङ गुरुङलाई हवाइमार्ग हुँदै सोमबार बिहान छुटाछुटै विमानमार्फत काठमाडौं लगिएको हो ।

भुजुङलाई विराटनगर विमानस्थलबाट ८ः३० मा नेपाल एयर्रलाइन्सबाट, गोरे र छिरिङलाई ८ः४० बजेको बुद्ध एयरको विमानबाट काठमाण्डौ पठाएको मोरङ प्रहरीले जनाएको छ । राप्रपा प्रजातान्त्रिकका नेता समेत रहेका भुजुङका छिरिङ नातामा सालो पर्दछन् ।

तीनै जनालाई काठमाडौंमा लगेर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि तीन जना अभियुक्तहरुलाई सम्पत्ति शुद्धिकरण विभागमा पठाएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

१० जेठमा पक्राउ परेका गोरेलाई सोही दिन जिल्ला अदालत मोरङमा उपस्थीति गराएको थियो । अदालत समक्ष चार दिन लगाएको दिएको बयानमा उनले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका थिए । गोरेले बयानको क्रममा सुनको लगानीकर्ता भारतीय व्यापारी रहेको बताएका थिए । तर, नाम भने उनले भनेका थिएनन् ।

भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए भने छिरिङ भने मोरङ जिल्ला अदालतमा २० जेठमा सुटुक्क उपस्थीति भए । उनले काठमाण्डौबाटै आफनोतर्फबाट पैरवी गर्ने कानुन व्यवसायीलाई लिएर अदालत आएका थिए । सोही दिन अदालत समक्ष बयान दिएपछि उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । त्यस्तै, पक्राउ परेका प्रहरी अधिकारीहरुमाथि भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको स्रोतले बतायो ।