पाँचथर । जिल्लामा पछिल्लो छ महिनामा १५ वटा जबरजस्ती करणीका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । इन्सेक पाँचथरले बुधबार आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को पूर्व समिक्षा कार्यक्रममा यो तथ्याङ्का सार्वजनिक गरिएको हो । सो अवधीमा दश जना बालिका र पाँच जना महिलामाथि जबरजस्ती करणी भएको इन्सेका पाँचथरका प्रतिनिधि मंगल बेघाले बताए । बेघाका अनुसार जबरजस्ती करणीका अधिकांश घटनामा आफन्त र छरछिमेकीको संलग्नता पाइएको छ । उक्त तथ्यलाई हेर्दा बालिका तथा महिलाहरु आफ्नै मान्छेबाट असुरक्षित हुने गरेको पाइएको हो । समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी दुई ओटा घटना मध्ये एक राज्य पक्ष र एक गैराज्य पक्षवाट भएको उल्लेख छ । बालअधिकार सम्बन्धी १२ ओटा घटनामा एक राज्य पक्षवाट र बाँकी ११ ओटा गैरराज्य पक्षवाट भएको देखिएको छ । यसैगरी, महिला अधिकार सम्बन्धी १२ ओटा घटनामा एक राज्य पक्ष र ११ ओटा गैरराज्य पक्षवाट भएका छन । प्रतिवेदनमा मलुकको संघीयता कार्यान्वयनको चरणमा गएसँगै स्थानीय सरकारवाट सेवा प्रवाह हुँदा समुदायले स्थानीय स्तरमा नै सुविधा प्राप्त हुनु र जिल्ला स्थित कार्यालयहरुवाट घुम्ती शिविर सञ्चालन मार्फत स्थानीय स्तरमा नै सेवा प्रवाह हुनुलाई सकारात्मक पक्षका रुपमा उल्लेख गरिएको छ । यसैगरी, महिला तथा बालिकाहरु बलात्कार, बलात्कार प्रयास जस्ता जघन्य अपराधवाट पीडित हुनु, विद्यालयमा अध्ययन अध्यापनका क्रममा विद्यार्थीमाथि कुटपिट हुनु र मातृभाषाको पठन पाठन क्रमशः घट्दै जाने क्रमलाई सुधार गर्नु पर्ने पक्षका रुपमा उठाइएको छ ।