धनकुटा(ब्लाष्ट) । धनकुटा नगरपालिका वडा नं.१ हिले स्थित् माईक्रो स्टेण्ड देखी रत्नरिङ्ग रोड हुँदै हिले सिरानसम्मको सडक पुनःनिर्माण गर्दा सडक कालपत्रे गरे पनि सडकको दाँया वाँया नाली निर्माण नगरेर नगरपालिकाले गल्ती गरेको स्थानिय उपभोक्ताहरुले गुनासो गरेका छन् । आ.व.०७४/०७५ मा धनकुटा नगरपालिकाले नगर क्षेत्रको कालपत्रे शहरी सडक मर्मत गर्न धनपा–१ हिलेको माइक्रो स्टेण्ड देखी रत्नरिङ्गरोड हुँदै हिले सिरानसम्म करिब ३ सय मिटर मोटर वाटो कालपत्रे गर्न ४९ लाख, ६४ हजार, ९ सय, ८ रुपयाँ, १० पैसा विनियोजन गरेको थियो । सडक कालपत्रे गर्ने कामको जिम्मा सल्टर कन्ट्रक्सन सोल्मा तेह्रथुमले लिएको थियो । अहिले सडक कालपत्रे गर्ने निर्माण कार्य भैरहेको छ । तर, सल्टर कन्ट्रक्सनले गरेको सडक कालपत्रे काम स्थानिय उपभोक्तालाई चित्तबुझेको छैन । उनीहरुले असार मसान्तमा वजेट सक्न झारा टार्ने मात्र काम नगर्न पनि निर्माण व्यावसायी र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । साथै, उनीहरुले वर्षायाममा पानी पर्ने सिजनमा कालपत्रे कामगर्दा कालपत्रे सडक कम्जोर हुने भएकाले सुख्खायाममा सडक मर्मत गर्न पनि सम्वन्धित निकायलाई आग्रह समेत गरेका छन् । स्थानिय समाजसेवी एवं धनपा–वडा नं.१ का पुर्व जनप्रतिनिधि बीरवहादुर तितुङ तामाङ भने “नगरपालिकाले लाखौं रुपैयाँ लगानी गरेर सडक त कालपत्रे गर्यो, तर सडकको दायाँवायाँ नाली नबनाएकोले गर्दा फेरी पनि बाटो लामो समयसम्म टिक्दैन ।” उनले दायाँबायाँनाली नभएपछि पिच सडक लोड गाडी कुदेपछि भत्किने वताए । उनले उक्त सडकमा वढी मात्रमा ट्याक्टर कुद्ने भएकाले पनिपिच सडक चाँडो व्रिगने गरेको तामाङले अनुभव सुनाएका छन् । पहिले पनि सो सडक नगरपािलकाले पिच गरेको थियो तर ढलको व्यावस्था राम्रो नहुँदा चाँडै विग्रएको वताएका छन् । यता हिले भ्यु होटलका संचालक खगेन्द्र विष्टले पनि सडक वन्यो तर दायाँवायाँ नाली बनेन भन्दै गुनासो गरे । विष्टले आफुले सो सडक कति रुपैयाँमा पिचहुँदै छ भन्ने नै थाहाँ नभएको वताए । उनले सडकको दायाँवायाँ ढल निर्माणको काम भए नभएको वारे नगरपालिकाका इन्जिनियर मिङ्गमा दोर्जे शेर्पालाई सोध्दा स्टेमेटमा नभएको जानकारी पाएको बताएका छन् । सो सडक नाली सहितको पिच किन गरिएन भनेर ब्लाष्टले इन्जिनियर शेर्पालाई जिज्ञासा राख्दा सडक बोर्डको पैसाले काम गराएको र यो वर्ष वजेट अभाव भएर नालीको काम नगरेको बताएका छन् । शेर्पाले यो वर्ष नगर क्षेत्रको वडा नं.१, ४ र ५ नम्वर वडामा सडक बाेर्डको पैसाले सडक मर्मत गर्ने काम भैरहेको बताए । उनले उल्लेखित ३ वटा वडामा जहाँ जहाँ सडक भत्किएको छ, त्यहि स्थानहरुमा सडक मर्मत भैरहेको बताएका छन् । शेर्पाले कालपत्रे गर्न ४९ लाख, ६४ हजार, ९ सय, ८ रुपयाँ, १० पैसा विनियोजनभएकोमा ५ हजार स्क्वाएर फिट भन्दा वढी सडक कालपत्रे गर्नु पर्ने बताए । विनियोजन भएको बजेटले धनपा–१ किलेको माईक्रोस्टेण्ड देखी रत्न रिङ्गरोड हुँदै हिले सिरानसम्म, धनपा–४ को रेडियो नेपाल देखी तल क्षेत्रिय प्रशासन, जिल्ला प्रशासन हुँदै नगरपालिका कार्यालयसम्म र वडा नं.५ को विभिन्न टोलमा कालपत्रे गरिने इन्जिनियर शेर्पाले बताएका छन् । उनले सडक बाेर्डले जगेडाकोषमा राखेको पैसाले हरेक वर्ष नगर क्षेत्रमा विभिन्न वडामा भत्किएको सडक मर्मत सम्भार गर्ने व्यावस्था रहेकाले सोही बमोजिम यो वर्ष वडा नं.१,४ र ५ नम्वरमा वडामा सडक कालपत्रे गर्ने काम भैरहेको वताए । सडक कालपत्रे भैरहेको बारे वडा नं.१ का वडाध्यक्ष निरेनतामाङले पनि यो वर्ष नाली बनाउने बजेट कुनै पनि वडामा नभएको बताए । उनले कालपत्रे सडक मर्मत गरिएको स्थानहरुमानाली र ड्रेनको काम स्थानियउपभोक्ताहरुलाई जिम्मा दिईएको बताए । उनले आगामी वर्ष पुनः ड्रेन निर्माणको काममा ध्यान दिने ब्लाष्टलाई बताएका छन् ।

तस्विर नं.१ र २ धनकुटा नगरपालिका वडा नं.१ स्थितु रत्नरिङ्गरोडमा सडक कालपत्रे गर्दै मजदुरहरु । जहाँ सडक मर्मत गरिएको छ, तर सडकको दायाँवायाँ ढल निर्माण गरिएको छैन ।