बेलबारी । बेलबारी नगरपालिकाले विहीवार दोश्रो नगरसभाको आयोजना गरि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । नीति तथा कार्यक्रममा भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई जोड दिईएको छ ।
सभामा बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुलीले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममा बेलबारीको आर्थिक वर्ष २०७५÷६७ को लागि ८० करोड २ लाख १४ हजारको बजेट पेश गरिएको छ । बजेटको आन्तरिक तर्फ ४ करोड ६१ लाख ५० हजार र वाह्य श्रोत ७५ करोड ४० लाख ६४ हजार रहेको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास तर्फ ३० करोड ४६ लाख ५३ हजार रकम विनियोजन गरेको छ । भौतिक पूर्वाधारमा कालोपत्र सडक, सडक स्तर उन्नती, कल्भर्ट,भवन निर्माण आदि रहेका छन् । त्यसैगरि सामाजिक विकास तर्फ शैक्षिक क्षेत्रका लागि १५ करोड २९ लाख १५ हजार विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा २ करोड ९४ लाख ८३ हजार विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक विकास तर्फ कृषि,पशु,सहकारीका लागि २ करोड ८२ लाख ८० हजार विनियोजन गरिएको छ ।
खेलकुदको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष नगर स्तरीय मेयर कप फुटवल प्रतियोगिता गर्ने, शिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न तालिमहरु प्रदान गर्न नगरले बजेटको व्यवस्था गरेको छ । त्यसैगरी नगरमा रहेका विभिन्न जातिहरुको धार्मिक संस्थाहरुलाई प्रोत्साहन गर्ने , खानेपानीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ । फोहोर व्यवस्थापनका लागि नगरलाई प्लाष्टिक झोला मुक्त बनाउन विकल्प खोज्ने, ल्याण्ड फिल्ड साईटको व्यवस्था गरि फोहोरबाट मल उत्पादन गर्ने, रिसाईक्लिङ प्लान्टहरुको स्थापना गर्ने उल्लेख छ । शैक्षिक संस्था, धार्मिक स्थलहरुको पाँच सय मीटर आसपास मादक पादर्थ तथा सुर्ती जन्य पदार्थहरुको विक्री वितरणलाई निरुत्साहित गर्ने नगरको लक्ष्य रहेको छ ।
प्राकृतिक श्रोतहरुको भुगोल नक्सा प्रकाशन गरि संभाव्य प्राकृतिक श्रोत साधन खानी तथा खनिजको व्यवस्थापन गर्ने योजना सार्वजानिक गरेको छ । पर्यटन प्रवद्र्धनका लागि नगरमा रहेको पर्यटकीय क्षेत्रहरुलाई स्थानीय,प्रादेशिक तथा केन्द्रिय स्तरका कार्यक्रमहरु तथा योजनाहरुमा समेट्न प्रयत्न गर्ने कार्यक्रममा उल्लेख छ । त्यसैगरी नगरमा स्वरोजगारका लागि विभिन्न शिप मुलक तथा आय मुलक कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ । नगरमा रहेको विपन्न परिवारलाई लक्षित गरि गरिब संग नगरपालिका कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।