शनिश्चरे । शुक्रवार रातीको घनघोर वर्षाका कारण मोरङ र झापाका होचो भूभागका वस्ती डुवानमा परेका छन् । सडक तथा कल्भर्टमा बाढीले क्षति पुर्याएको छ ।

झापाको दमक तथा जिल्लाको दक्षिणी क्षेत्र डुवानमा परेको छ ।

मोरङको पथरीशनिश्चरे, उर्लावारी लगायतका क्षेत्र पनि उसैगरी डुवानमा परेका छन् । वढी पानी परेको बेला उचित निकासको स्थायी प्रवन्ध नहुँदा डुवानको समस्या हुँदै आएको छ । वजार क्षेत्रमा नाला साना राखिने तथा अन्यत्र पनि पानीका चौतर्फी निकासको प्रवन्ध गर्ने कुराको सोच विना भएको निर्माणका गतिविधिले वर्षाको समयमा स्थानीय त्रसित वन्दै आएका छन् ।

पथरीशनिश्चरे १ मन्दिरलाईन पूर्व दक्षिणको भाग डुवानमा परेको छ । वडा नम्वर २ को वुद्धचोक दक्षिण छयालिसविघे क्षेत्रको १ किलोमिटर सडक क्षेत्रमै बाढी वगिरहेकोले यातायातमा समस्या भएको छ । सडकका दुवैतर्फको नाला सानो हुँदा र ठाउँ ठाउँमा सडक पार गर्ने ठाउँमा निकास नहुँदा लगातार डुवानको समस्या हुँदै आएको स्थानीय हर्क राईले वताए । उनले त्यस क्षेत्रका वासिन्दा त घर घरमा डुवान भएपछि त्रासमा रात विताएको जनाए । छयालिसविघे पूर्व नयाँ स्वास्थ्य चौकी भवन उत्तरको नयाँ सडक ग्राभेल वगाउनुका साथै सडक क्षेत्र नै भत्काएर पानीको भंगालो वगिरहेको वडाध्यक्ष यामप्रसाद गुरागाईंले वताए ।

गत वर्ष कल्भर्ट वगाएपछि यस वर्ष १२ लाख रुपैयाँ वढीमा बनाइएको छयालिसविघे कल्भर्टको पूर्वी भागबाट कटान गरेर खाल्डो वनाई आवतजावत अवरुद्ध बनेको गुरागाईंले जनाए ।

वडा नम्वर १० को जिरिखिम्तीमा कल्पना श्रेष्ठको किराना पसल डुवानमा परेको छ । त्यसभन्दा पश्चिममा रहेको पूर्वपश्चिम मुख्य सडकबाट दक्षिण पानी कट्ने कल्भर्ट पेट्रोलपम्प वनाउने पक्षले पुरेपछि सुनील दहाल लगायतका घरहरु समेत डुवान भएको वडा सदस्य अनोज घिमिरेले वताए । त्यहाँ एस्काभेटर लगाएर पानी खोल्ने काम भएको छ ।

वडा नम्वर ९ सहितका अन्य वडाहरु पनि डुवानमा परेको स्थानीय वडाध्यक्षहरुले जनाउनु भयो । ९ नम्वरको महेन्द्रचोक नजिकको तित्रीगाछी कल्भर्टको दुवैतर्फको छेउ कटान भएर कल्भर्ट टापुमा परिणत भएको वडाध्यक्ष भानुभक्त राईले जनाए । ४ नम्वर वडामा पनि कल्भर्टमा केही क्षति पुर्याएको वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले उल्लेख गरे । वडा नम्वर ३ का साथै ५ र ६ को हसन्दहमा पनि डुवानको समस्या भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्षहरुको टोलीले शनिवार विहान डुवान र कटान क्षेत्रको अवलोकन गरेको छ ।