झापा (ब्लाष्ट) । झापा बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटलले पूर्वमै पहिलोपटक हाडजोनी सम्बन्धि स्पोर्ट क्लिनिक सञ्चालन गरेको छ ।विश्वस्तरीय दूरविन पद्धतिबाट उपचार गरिने यो विधि प्रयोग गरेर हस्पिटलले ६ जना बिरामीको उपचार गरीसकेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बिशेषगरी जोर्नीमा समस्या उत्पन्न भएमा यस बिधिबाट उपचार गरिन्छ । हस्पिटलका सर्जन तथा हाडजोर्नी नशाको विशेषयज्ञ प्रेमबहादुर साहीले यस प्रकारको उपचार शुलभ शुल्कमा कनकाईमै हुने दावी गरेका छन् । बिशेषगरी खेलाडीहरु घाईत हुँदा गरिने उपचार पद्धति भएतापनि नेपाली समाजमा जोर्नी सम्बन्धि देखिएको समस्यालाई आधार मानेर यो पद्धति भित्र्याइएको डाक्टर साहीको भनाई छ ।

हस्पिटलमा दुई हप्ता अघि बिर्तामोडका २७ बर्षिय सुजन चौधरीको ४ बर्ष अघि फूटवल खेल्ने क्रममा घुडामा समस्या भएको र यो पद्धतिबाट उपचार शुरु गरिएको डाक्टरले बताएका छन् । उपचारपछि अहिले चौधरी हस्पिटलमा थेरापीमा रहेको र उनको अवस्था सामान्य बन्दै गएको डाक्टर साहीले बताए ।

यो पद्धतिबाट उपचार गर्दा एकलाख २५ हजारदेखि एकलाख ५० हजारसम्म खर्च आउने उनले बताए । कनकाईमा यो पद्धतिबाट उपचार गर्ने उपकरण ७० लाखको लागतमा ल्याइएको हस्पिटलले जनाएको छ । हस्पिटलका अनुसार कनकाईलाई ट्रमा सेन्टरका रुपमा विकास गरिदै लैजाने लक्ष्य लिएको हस्पिटलका सञ्चालक महेन्द्रकुमार राईले बताए । कार्यक्रमको सञ्चालन हस्पिटलका शिशिर ढुङ्गानाले गरेका थिए ।