मधुमल्ला (ब्लाष्ट) । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीमा छाडातन्त्र मौलाउँदै गएको बताए । उर्लाबारी–४ स्थित ग्लोवल क्लबको आयोजनामा शनिबार भएको कान तथा आँखा शिबिर कार्यक्रमलाई सम्बोधन गर्दै उनले उर्लाबारीमा छाडातन्त्र मौलाएको बताएका हुन् । उर्लाबारी हरेक हिसाबले चर्चामा रहेको उल्लेख गर्दै विकासका नाममा राजनिती गर्न नहुने मेयर फागोको भनाई छ । जनताको शिर झुक्ने कुनै कार्य नगरेको उल्लेख गर्दै उनले उर्लाबारीलाई नमूना र समृद्ध बनाउने अभियानमा नगरपालिका लागिरहेको बताए । कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई(भरत), सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, उर्लाबारी रेडक्रसका अध्यक्ष मदनबाबु प्रसाई, इलाका प्रहरी कार्यालय उर्लाबारीका सई प्रकाश पराजुली, युवा समाजसेबी मिलन दाहाल, सुनिल बोहोरालगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिब नेत्र आपागाईले गरेका थिए भने क्लबका अध्यक्ष प्रेम याख्याको सभापतित्वमा कार्यक्रम भएको थियो । नेपाल नेत्र ज्योति संघ, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम, विराटनगर आँखा अस्पताल र उर्लाबारी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको उक्त शिबिरमा ४ सय भन्दा बढी आँखा तथा कानका विरामीहरु लाभान्वित भएको कार्यक्रम संयोजक सर्वजित भण्डारीले जानकारी दिए । शिबिरमा उर्लाबारी नगरपालिकाको सहयोग रहेको थियो ।