पाँचथर /पर्यटकीय स्थल फिदिम नपा–६, लब्रेकुटीमा लिम्बू चलचित्र (स्क्रिप्ट) लेखन सम्बन्धी तीन दिने कार्यशाला आइतबार सम्पन्न भएको छ । लिम्बू चलचित्र निर्माणलाई सिद्धान्तपरक र विशिष्टीकरण गर्दै लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको आयोजक लिम्बू चलचित्रकर्मी सङ्घले जनाएको छ ।
कार्यशालामा राजधानीसहित पूर्वका विभिन्न जिल्लाका २० जना लिम्बू चलचित्रकर्मीको सहभागिता रहेको आयोजक संस्थाका उपाध्यक्ष रवि शेर्माले बताए । कार्यशालामा लिम्बू चलचित्र लेखनका लागि विषयवस्तुको छनोट साथै स्क्रिप्ट लेखनका विविध पक्षबारे अनुप सुवेदीले सहजीकरण गरेका थिए । तीन दिनसम्म चलेको कार्यशालामा सहभागीलाई समूहमा विभाजन गरी स्क्रिप्ट लेखनको अभ्याससमेत गराइएको थियो । समापन समारोहमा बोल्दै सहजकर्ता सुवेदीले कार्यशालाको सिकाई र अभ्यासले आगामी दिनमा स्तरीय लिम्बू चलचित्र निर्माण हुने आशा व्यक्त गरे । उक्त कार्यशाला नेपाल चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति मातृभाषि चलचित्र प्रवद्र्धन समितिको सहयोगमा सम्पन्न भएको आयोजक लिम्बू चलचित्रकर्मी सङ्घका केन्द्रीय सदस्य सागर केरुङले बताए ।