विराटनगर । सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका प्रभावकारी भए पनि सशस्त्र प्रहरीको भने कमजोर देखिएको छ । खुल्ला सिमाको कारणले गर्दा नेपाल–भारत सीमा क्षेत्रबाट अवैध चोरी पैठारी तथा तस्करी हुने गर्दछ । त्यही चोरी तस्करी तथा भन्सार राजश्व छली नियन्त्रण गर्न भन्सार कार्यालयसंग समन्वय गरेर सशस्त्र र नेपाल प्रहरीले काम गर्दै आएको छ ।

तर, सिमा नाकाबाट भन्सार छलि गरी चोरी पैठारी र तस्करी नियन्त्रण गरी राजस्व बुझाउन नेपाल प्रहरी अगाडी देखिन्छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको विराटनगर भन्सार कार्यालयमा प्रहरीले बुझाएको अवैध चोरी पैठारी र तस्करी नियन्त्रण गरेको अभिलेख हेर्ने होे ६ सय ८८ वटा मुद्दा दर्ता भएको छ । जसबाट २ करोड ४३ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको अभिलेखमा देखिन्छ । संकलन भएको राजस्व र मुद्दा दर्ता गराउन सुरक्षामा खटिने नेपाल प्रहरी अगाडी रहेको उक्त तथ्याङ्गबाट देखिएको हो । विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील थापाका अनुसार भन्सार राजश्व छलीमा अलग्गै गस्ती टोली समेत रहेको सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको हाल सम्म अवैध चोरी पैठारी र तस्करी सम्बन्धी १ सय ६ वटा मात्रै मुद्धा दर्ता गराएको छ । त्यति मुद्धा दर्ता गराउँदा ४० लाख १५ हजार रुपैयाँ राजश्व असुली भएको छ । जस मध्ये सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीबाट २५ मुद्धा दर्ता भएर आठ लाख ७० हजार रुपैयाँ राजश्व संकलन भएको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र कै अन्य युनिटले ८१ वटा मुद्धा दर्ता गराएर ३१ लाख ४५ हजार रुपैयाँ राजश्व असुली गराएका छन् । नेपाल प्रहरीले चालु आवको हाल सम्म ४ सय ७६ वटा अवैध चोरी पैठारी र तस्करी सम्बन्धी मुद्धा दर्ता गराउँदा एक करोड ९९ लाख १७ हजार रुपैयाँ राजश्व असुली भएको थापाले बताए । तस्करी सम्बन्धी मुद्धा दर्ता र राजश्व असुलीमा इलाका प्रहरी कार्यालय रानीले ८० प्रतिशत योगदान पुर्याएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कर्मचारीको गस्तीबाट चालु आवको हाल सम्म तस्करी सम्बन्धी १० वटा मुद्धा दर्ता गरेर तीन लाख ९१ हजार रुपैयाँ राजश्व असुली भएको प्रवक्ता थापाले बताए । सुरक्षा निकाय भन्दा तस्करी नियन्त्रणमा भन्सार निक्कै पछाडि छ । थापाले दिएको जानकारी अनुसार भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर भन्सार छली गर्दै तस्करी गर्ने गरिएका सामान र मानिस सहित पक्राउ गरेर सुरक्षा निकायले कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएपछि त्यसलाई मुद्धाको प्रक्रियामा लगिने बताए ।

गत आर्थिक वर्ष २०७३÷०७४ मा पनि सशस्त्र प्रहरीको भूमिका प्रभावकारी देखिएन । त्यतिबेला सशस्त्रले एक सय ६० वटा मात्रै मुद्धा दर्ता गराउँदा ६१ लाख रुपैयाँ राजश्व असुली भएको थियो । नेपाल प्रहरीले दुई सय २८ वटा मुद्धा दर्ता गराउँदा ८६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । गत आवमा नेपाल प्रहरीले सशस्त्र भन्दा ६८ वटा मुद्धा बढी दर्ता गराएर २५ लाख बढी राजश्व असुली गराएको भन्सार प्रवक्ता थापाले जानकारी दिए । नेपालबाट सुपारी, मरिच, चिनिया स्याउ, बालुवा लगायत तस्करी हुने गरेको छ भने भारतबाट चिनी, चामल, तेल, अन्य खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको स्रोतले जानकारी दिए । सशस्त्र र नेपाल प्रहरीले प्रज्ञापन पत्र भरेर पनि माल वस्तु जाँचपास गराउँदा राजश्व छलीको शंका लागेमा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर पुःन जाँचपासका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षासंगै नेपाल प्रहरीले अवैध चोरी पैठारी तथा निकासी र तस्करी नियन्त्रणलाई पनि प्रमाथमिकतामा राखेर काम गरिरहेको बताए । सर्वसाधारणसंग बढी सम्पर्क रहने भएकाले पनि तस्करी र अवैध कारोवार सम्बन्धीका सूचना बढी आउने गरेका कारण नियन्त्रणमा नेपाल प्रहरीको भूमिका प्रभावकारी देखिएको हुन सक्ने उनको भनाई थियो । यता सशस्त्र प्रहरी वल भन्सार राजश्व गुल्म विराटनगरका डीएसपी केशवसिंह थापाले चोरी निकासी र पैठारी नियन्त्रणमा भन्सारसंग समन्वय गरेर काम भइरहेको बताए । सशस्त्र प्रहरी सीमित ठाउँमा केन्द्रीत भइरहँदा नेपाल प्रहरी सबै तिर छरिएर काम गरिरहेका कारण तस्करी नियन्त्रणमा उसको भूमिका प्रभावकारी देखिएको हुन सक्ने उनले बताए ।