इटहरी । चार करोडको लागतमा इटहरीमा निर्मित पशु वधशाला प्रयोगविहीन बनेको छ । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि हालसम्म प्रयोगमा आउन सकेको छैन् । अहिले उक्त क्षेत्रमा आइतबार र बुधबार हटिया (बजार) लाग्ने गरेको छ । इटहरी उपमहानगरको वेवस्ताका कारण पशु वधशाला प्रयोगविहीन बनेको छ भने इटहरीवासीले अस्वस्थ्यकर मासु खान बाध्य छन् । पशुपंक्षी महानिर्देशनालय आवास तथा शहरी विकास विभाग र इटहरी उपमहानगरपालिकाको सयुक्त लगानीमा वधशाला निर्माण भएको थियो । माछामासु र सब्जीजन्य बजार व्यवस्थापन गर्ने उद्देश्यका साथ निर्मित वधशाला प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको छ । बजार व्यवस्थापन गर्न बने पनि प्रयोगमा नआउँदा उक्त क्षेत्र दुर्गन्धित बनेको स्थानीयबासी तथा फुटबलर सुरेन्द्र तामाङ बताउँछन । मासु काटीसकेपछि नियमित सरसफाइ नहुँदा त्यसबाट दुर्गन्ध फैलिएको उनको गुनासो छ ।
उपमहानगरले बजारलाई व्यवस्थित गर्न करोडौं खर्चिएर सटरसहितको भवन निर्माण गरे पनि व्यापारीहरु त्यसलाई प्रयोग गर्न सकेका छैनन् । इटहरी चौकमा लामो समयदेखि मासु बिक्री गर्दै आएका शिवु बस्नेतले वधशाला व्यस्थिति नभएकाले जान नसकेको बताए । उपमहानगरले व्यवस्थित बनाए मात्रै आफूहरू जान सक्ने बताए । तरकारी र मासु बिक्रीका लागि ४० भन्दा सटर निर्माण गरिएका छन् । अहिले ती सटरहरू जीर्ण बनिरहेका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले सात बर्षअघि निमार्ण भएको वधशाला प्रयोगमा नआउँनु नगरको कमजोरी भएको स्वीकारे । उनले विविध कारणवश वधशाला प्रयोगमा नआउनु चार करोड खेर गएको बताए । उनले उद्योग बाणिज्य संघ लगायतका संस्थासँग सहकार्य गर्ने भनिए पनि सोचजस्तो नहुँदा सञ्चालन नआएको उनी बताउँछन । भाडा दिने तयारीमा लामो समयदेखि सञ्चालनमा आउँन नसकेको पशु बधशाला तथा आईतबारे–बुधबारे हटिया आसपासको जग्गा निजि क्षेत्रका कम्पनीलाई भाडामा दिने तयारी इटहरी उपमहानगरले गरेको छ । बजार क्षेत्र लथालिङ्ग हुँदै गएको भन्दै निजि क्षेत्रलाई जिम्मा लाउँन लागेको हो । जनताको माग अनुसार उपमहानगरले काम गर्ने नसकेकै कारण इटहरी उपमहानगरपालिकाले उक्त जग्गासहित बधशाला निश्चित समयको लागि भाडामा दिने तयारी गरेको इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले बताए । दाहालले भने, ‘केही महिनामै हामी उक्त जग्गासहितको बधशाला भाडामा दिँदै छौ ।’ भाडामा दिएर ब्यवस्थित रुपमा बधशाला सञ्चालन हुने उपमहानगरले बतायो ।