मधुमल्ला/अतिक्रमणका कारण मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मावा नुनसरी सामुदायिक वन मासिने क्रममा छ । विभिन्न धार्मिक संस्था तथा अन्य सङ्घसंस्थाले वनको जग्गामा अतिक्रमण गरेर मन्दिर तथा थान बनाउने क्रम बढेको छ । वन क्षेत्रमा विना अनुमति मन्दिर, थान, कार्यालय र खानेपानीको कार्यालय राखिएपछि वन अतिक्रणमा परेको हो । मिक्लाजुङको मधुमल्लामा रहेको ७, ८ र ९ नम्बर वडा तथा दक्षिणी इलामको चुलाचुली–६ साक्फाराको ठूलो भू–भाग ओगटेको वनका पदाधिकारी बताउँछन् । वन क्षेत्रभित्र भौतिक संरचना बनाउन तथा खोरिया फँडानी गर्न नपाइने भए पनि कतिपय व्यवहारिक पक्ष हेर्नु पर्ने भएकाले यसलाई नियन्त्रण गर्न नसकिएको वनका अध्यक्ष विष्णुप्रसाद गुरागाई बताउँछन् । स्थानीय जनताले वन क्षेत्रलाई संरक्षण गरे पनि अतिक्रमणले वन नासिने क्रम बढेको लेखा सदस्य दिपक कटुवालले बताए ।
मिक्लाजुङ गाउँपालिकाले वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वृहत गुरुयोजना अघि बढाएको अध्यक्ष गुरागाँईले बताए । पर्यटकीय क्षेत्र बनाउन गाउँपालिकाले १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । वनलाई सीमसार क्षेत्रको रूपमा प्रवद्र्धन गर्न सके गाउँपालिकाले मुहार फर्ने समितिका सचिव दीपेन थापा बताए । थापाका अनुसार वन क्षेत्रमा बाल उद्यान, स्वीमिङ पुल बनाउने तयारी गरेको छ । मावा सुनसरी स्थानीयलाई २०६२ सालमा हस्तान्तरण भएको हो ।