राजविराज / स्थानीय सरकार संचालन ऐनलगायत बे-वास्ता गरेको भन्दै राजविराज नगरपालिकाकाे मेयरविरुद्ध पुर्व मेयर तथा राजनीतिक दलका प्रतिनिधिहरु संयुक्त रुपमा बिरोधमा उत्रिएका छन् ।
सोमवार पुर्वमेयर गोविन्द सिंह, अनिस अन्सारीलगायतले मेयरविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका छन् । उनीहरुले चार बुँदे आन्दोलनको निर्णय नै सार्वजनिक गरेको छ । पूर्वमेयर सिंह, अन्सारीलगायत गत निर्वाचनमा मेयर पदका उम्मेदवार ध्रुव देव, एमालेका उम्मेद्वार सुखराम यादव, संघिय समाजवादी फोरमका उम्मेद्वार भिमराज यादव तथा नयाँ शक्ति र नेकपा संयुक्तका साझा उम्मेदवारमिना ठाकुरले विरोधको कार्यक्रम सार्वजनिक गरेका हुन् । वैठकपछि एमालेका सुखराम यादवले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१, उपदफा १ वमोजिम स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र वजेट विवरण कार्यपालिकाबाट स्विकृत गराई १० असार भित्रै सभामा पेश गरिसक्नु पर्ने स्पष्ट कानुनी व्यवस्था रहे पनि मेयर शम्भुप्रसाद यादवले सो व्यस्थाको बर्खिलाप गर्दै हालसम्म सो प्रकृया अघि नबढाएको बताए ।
संघिय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेद्वार भिमराज यादवले नगरपालिकाले हालै गरेको आन्तरिक कर निर्धारण प्रकृयामा कसैलाई सहभागि नगराई मनोमानी ढंगले कर निर्धारण गरी नगरवासीको ढाड भाँच्ने काम गरेको भन्दै त्यस विरुद्ध १३ असार बुधबारका दिन स्थानीय हटिया बजारको प्राङ्गणमा बृहत भण्डाफोर र खबरदारी सभाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा सहभागि मेयर पदका अर्का प्रत्यासी मिना ठाकुरले आवश्यक सरसफाई र फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्दा नगर दुर्गन्धित र कुरुप बन्दै गएकोले बैठकमा नगर क्षेत्रका सम्पुर्ण बेथितीहरुको अन्त्य गर्नु पर्ने माग गर्दै १४ असार विहिवारका दिन नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय पनि गरिएको बताइन् । बैठकमा सहभागि पुर्व मेयर अनिस अन्सारीले नगरपालिकाले यस आर्थिक वर्षमा विनियोजन गरेको बजेट र परिषदले गरेको निर्णयको अध्ययन गरीएको जानकारी दिदै हाल विकास निर्माणका काममा भईरहेको आर्थिक अनियमितता रोक्न प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय समेत भएको बताए ।