बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको खुदुनावारीमा नेपाल टेलिकमको एक्सचेन्ज उद्घाटन भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खुदुनावारीमा टेलिकमको आधारभुत टेलिफोन एक्सचेन्ज उद्घाटन गरेका हुन् । बाँस्कोटाले स्थानीय सञ्चारमाध्यम रेडियो भिजनमा फोन गरेर टेलिफोन एक्सचेञ्ज उद्घाटन गरेका थिए । एक्सचेन्ज स्थापना भएपछि खुदुनावारीमा ल्याण्ड लाइन टेलिफोनको सेवा शुरु भएको छ । १ सय ४४ वटा टेलिफोन क्षमताको एक्सचेञ्ज खुद्नावारीमा स्थापना भएको हो । झापामा टेलिकमका ३२ वटा एक्सचेञ्ज मार्फत २३ हजार ८ सय ७१ ल्याण्डलाईन टेलिफोन सञ्चालित छन् । टेलिफोन एक्सचेञ्ज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार दृढ रहेको बताएका छन् । उनले अहिलेको युगमा सञ्चार प्रविधि परिवारको सदस्य जस्तो भएको बताउँदै यसको गुणस्तरको लागि काम गर्न सम्बन्धित प्राविधिकलाई निर्देशन दिएका छन् । कर्मचारीले शैली, गति र मति परिवर्तन गरेर काम गर्नुपर्ने उनले बताए । उनले टेलिकमको सेवा देशभरी पुर्याउने बताए । ‘नागरिकले टेलिफोन माग्न आउने होइन, चाहिएको छ भनेर सोध्दै जानुहोला, मन्त्री बाँस्कोटाले भने–‘टेलिकममा पैसाको खााचो छैन, बोरामा राखेर ५५ अर्ब रुपैंयाँ राखेको छ, सेवा र गुणस्तरमा सम्झौता नगर्नुहोस ।’ उनले आम नागरिकलाई सुचना प्रविधिमैत्री बनाउने उद्घोष गरेका छन् । उनले प्रदेश नम्बर १ लाई ‘सुचना महामार्ग बनाउने जिम्मा टेलिकमको भएको बताए । त्यो काम २ बर्षभित्रमा सक्न उनले कर्मचारीलाई निर्देशनपनि दिएका छन् । ‘कनेक्टिभिटी र कनेक्सनको जिम्मा टेलिकमले लिएको छ । त्यो समयमा पुर्ण बनाउने दायित्व हामीसँग छ ।’ खुदुनावारीमा बितरण भएको टेलिफोनमा सहजै एडिएसएल चल्ने आधुनिक प्रविधि जडान भएको बताइएको छ । कार्यक्रममा प्रतिनिधिसभा सांसद पवित्रा निरौला खरेल, बिर्तामोड नगरपालिकाका मेयर हरिकुमार राना, टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी लगायतले बोलेका थिए ।