पानवारी/ राष्ट्रिय धान दिवसको अवसरमा धरान–६ स्थित पानवारीमा भव्य रोपाई महोत्सव सम्पन्न भएको छ ।

पानवारी स्थित सहभागी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रोपाइ महोत्सवमा स्थानीय कृषक तथा बजारबाट धान रोपाईको मज्जा लिन उल्लेख्य सहभागिता रहेको थियो । संस्थाले आयोजना गरेको यो चौथो धरान रोपाई महोत्सव हो । महोत्सवमा धरानका विभिन्न स्कुलका करिब हजार भन्दा बढी विद्यार्थी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकता, संघसंस्थाका प्रतिनिधिहरु धान रोपेर रमाइलो गर्न पुगेका थिए । रोपाई महोत्सवमा पुग्नेहरु पञ्चेबाजा सहित लगाइएको बेठी (नाचगानसहितको धान रोपाई) सँगै नाच्दै, गाउँदै र हिलो छेपा छेप गरेर रमाएका थिए ।

पहिले पहिले धान रोप्ने मात्र नभइ धान रोप्नु भन्दा अगाडी लगाएको मकै समेत भित्र्याउँदा महिना दिनसम्मको थकान मेट्नको लागी ठूलाबडाकोमा बेठी लगाउने चलन हुन्थ्यो । बेठिसँगै धान रोपाई गर्दा रमाइलो हुने र काममा थकान महसुस नहुने हुँदा पहिले पहिले बेठीको चलन रहेको बताउँछिन् धरान–६ कि कृषक मनमाया विक ।

रोपाई महोत्सवमा सहभागी हुन धरानको सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस, च्याम्पियन बोर्डिङ स्कुल, नबोदय विद्या मन्दिर, होलिल्याण्ड इन्टरनेशन स्कुल, केके इन्टरनेशन स्कुल र लिबर्टि स्कुलका विद्यार्थीहरुले समेत हिलोमा धान रोपेका थिए । ‘विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा गाउँ घरको संस्कृतिको अनुभव गराउनका साथै धान रोपेर फलाउन गर्नुपर्ने मेहनतको प्रत्यक्ष अनुभूति गराउन विद्यार्थीलाई रोपाई महोत्सवमा ल्याएको’ होलिल्याण्डका शिक्षक श्रीजन आचार्यले बताए । त्यस्तै केके इन्टरनेशन स्कुलकी प्रि–प्राइमरी कोअर्डिनेटर सोनीका न्यौपानेले ‘धान रोप्ने, धान फलाउने र धानबाट खाना बनाउने भन्ने कुराको ज्ञान बजारका विद्यार्थीलाई नभएको र कतिपय विद्यार्थीले भात कस्तो रुखमा फल् छ ? भन्ने जस्ता प्रश्न गर्न थालेकोले उनीहरुलाई प्रत्यक्ष धानको उत्पादन यसरी हुन्छ भनेर सिकाउन रोपाई महोत्सवमा विद्यार्थी ल्याएको बताइन् ।

रोपाई महोत्सवको अवसरमा धरान र आसपासका कलाकारहरुले रोपाईको चित्र क्यानभासमा उतारेका थिए । उनीहरुले रोपाई चलिरहेको बेला दुरुस्तै चित्र कोरेका हुन् । ३३ वर्षदेखि चित्र कोर्ने पेशामा रहेका धरान–१७ का लेस मगरले रोपाई महोत्सवमा कोरेको चित्र विभिन्न अन्तराष्ट्रिय प्रदर्शनिमा राखिने बताए । उनले भने –‘नेपाल एउटा कृषि प्रधान देश हो यहाको कृषिलाई अब आधुनिक बनाउन पनि प्रमोशनको खाँचो छ । त्यसैले मैले सकेको प्रमोसन म गर्छु ।’

कृषि जोन नारामा सिमित

रोपाई महोत्सवमै भेटीएका वडाध्यक्ष भुवन बस्नेतले धरान उपमहानगरपालिकाले ६ नं. वडा पानवारीलाई कृषि जोन बनाउने भनेता पनि त्यो व्यवहारमा लागु नगर्दा प्लटिङ तर्फ तिब्र रुपले अघि बढेको बताए । उनले आफु वडाध्यक्ष भएको नाताले उपमहानगरमा कृषिसँग सम्बन्धित विभिन्न योजना लैजादा समेत उपमहानगरले कृषिका योजनालाई पन्छाएको भन्दै दुःखेसो पोखेका छन् । उता उपमेयर मञ्जु भण्डारीले भने कृषिको विकास गरेर विदेशिएका युवालाई यही रोक्ने लोकप्रिय भाषण गरेकी छन् । उनले भनिन् ‘अर्काको देश सिंचित गरेर उर्बर बनाउने युवाले अब स्वदेशलाई नै कृषि माध्यमले सिंचित गरेर विकास गर्नपर्छ, त्यसका लागी धरान उपमहानगरपालिकाले पनि योजना बनाउँदैछ ।’