बेलबारी/मोरङको बेलबारीमा रहेको खानेपानीका नगरपालिका वडा नं. ३ मा अहिले खानेपानी संस्थाले वितरण गरेको धारामा पानी नआएपछि उपभोक्ताहरु समस्यामा परेका छन् । बेलबारीको वडा नं. ३ मा खानेपानी सहज रुपमा आपूर्ति नभएपछि स्थानीय उपभोक्ताहरुले खानेपानीको समस्या झेल्नु परेको छ । केहि दिन यता धारामा पानी नआएपछि सुन्दरटोलका बासिन्दाहरु दैनिक कामकाजमा असहज खेप्नु परेको सुन्दर टोल विकास समितिका अध्यक्ष अर्जुन राईले बताए । खानेपानी सानो आउने वेगले नआएपछि छतमा पानी बोकेर नै लानु पर्ने समस्या रहेको स्थानीय बासिन्दाहरुको भनाई छ । खानेपानीको पाईप जताततै फुटेको छ संस्थाले मर्मत नगर्दा स्थानीय वासिन्दाहरुले समस्या झेल्नु परेको बताएको छ । यसअघि पनि खानेपानीको धारामा समस्या आईरहेको उनीहरुले बताएका छन् । धारामा पानी नआएपछि स्थानीय टोलवासीहरुले विहीबार संस्थामा प्ले कार्ड सहित गएर ज्ञापन पत्र दिएका छन् । टोलवासीको ज्ञापन पत्र बेलबारी साना सहरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष महेन्द्र सुवेदीलाई बुझाएका थिए ।
बेलबारी नगरपालिका वडा नं. ३ को बाटोमा जेसिभी प्रयोग गर्दा खानेपानीको पाईप फुटेको कारण खानेपानीको समस्या भएको समितिका अध्यक्ष सुवेदीको भनाई छ । पहिले भन्दा हामीले खानेपानीको सवालमा धेरै सुधार गरेका छौं । अहिले जेसीभीले पानीको पाईप फुटाएछन् हामी लगत्तै यसलाई मर्मत कार्य गर्छौं अध्यक्ष सुवेदीले बताए । बेलबारीमा खानेपानी संचालन भए यता पटक पटक पाईप फुट्नाले स्थानीय वासिन्दाहरुले खानेपानीको समस्या बेहोर्नु परेको छ । अहिले पनि जेनेटरमा समस्या आएका कारण ट्यांकीको क्षमता अनुशार पानी संकलन हुन सकेको छैन । त्यसकारण पनि खानेपानीको सहज आपूर्ति हुन सकिरहेको छैन । २०६१ सालमा स्थापना भएको बेलबारी खानेपानीको उपभोक्ताहरु अहिले एक हजार ४ सय घरधुरी रहेका छन् । पाँच लाख क्षमताको खानेपानीको ट्यांकीले २ हजार ५ सय घरधुरीलाई लक्षित गरि निर्माण गरिएको हो । बेलबारी खानेपानीको व्यवस्थापनमा सुधार नभएको कारण खानेपानीको नेतृत्व छनौटका लागि निर्वाचन भएको थियो । अध्यक्ष सुवेदी खानेपानीका निर्वाचित अध्यक्ष हुन् ।