बेलबारी/ धान उत्पादनमा वृद्धि , राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवश कार्यक्रम शुक्रवार मोरङको बेलबारी नगरपालिकामा सम्पन्न भएको छ ।  बेलबारी नगरपालिका वडा नं. ३ गरिमा टोलमा रहेको मैनावारी उज्यालो कृषक समुहको आयोजनामा भएको धान रोपाई कार्यक्रम बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले धान रोपेर उद्घाटन गरेका थिए । प्रत्येक असार १५ मा मनाउदै आएको राष्ट्रिय धान दिवशमा नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, नगरका प्रवक्ता योगेन्द्र सुवेदी लगायत नगरका कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको थियो । रोपाई कार्यक्रममा धान रोप्दै, नाच्दै, एकआपसमा हिलो छ्यापेर रमाईलो समेत गरेका थिए । समुहका सदस्य सकुन्तला सुवेदीको खेतीमा धान रोपेपछि दही,चिउरा भोजन गरेका थिए । कार्यक्रम समुहका अध्यक्ष योगेन्द्रकुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसैगरी बेलबारी नगरपालिका वडा नं. ८ मा पनि धान दिवशमा रोपाई गरेर मनाएका छन् । संघीय समाजवादी फोरम निकट कृषि संगठन क्षेत्रिय समितिको आयोजना उक्त कार्यक्रम गरिएको फोरमका क्षेत्रिय अध्यक्ष वर्ण राईले जानकारी दिए । राज्यले कृषिमा ठूलो लगानी र अनुदान दिन सकेमा मात्र कृषि क्षेत्रको विकास र प्रवद्र्धन हुने राईले बताए ।