पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा औलो रोग फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोगी पत्ता लगाउन रगतको नमूना संकलन कार्यलाई निरन्तरता दिइने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले नगरमा रहेका स्वास्थ्य संस्थाका ल्याव टेक्निसियन सहितका सञ्चालकहरुसँग शुक्रबार अन्तरक्रिया गरी शंकास्पद औलो रोगीको पहिचान गरी उपचार गरेर रोग निर्मूल पार्न सक्रियता अपनाउनु पर्ने उल्लेख भएको छ ।

अन्तरक्रियामा स्वास्थ्य संयोजक मुरारी आचार्य, सहसंयोजक जगत मगर र एकराज खत्रीले नगर क्षेत्रभित्र हाल औलो रोगी नदेखिएको भएपनि बिगतमा औलोको प्रभाव रहेकाले औलो रोगी हुनसक्ने अवस्थालाई ध्यान दिनुपर्ने बताए । नगर क्षेत्रका नीजि स्वास्थ्य संस्थामा पनि स्वास्थ्य चौकीमार्फत औलो रोग जाँचका लागि किड बितरण गरेर निःशुल्क औलो जाँच भइरहेको छ । ज्वरो आएका ७१ जना मानिसमा यो जाँच गर्दा कसैमा पनि औलो फेला परेको छैन । तर जाँचको कार्यलाई सबै स्वास्थ्य संस्थाले निरन्तरता दिनका लागि नगर प्रमुख दिलीपकुमार राईले आव्हान समेत गरेका छन् । कुनै न कुनै कारणले अस्पताल आएका विरामीमा ज्वरो छ भनें उनीहरुको औलो समेत परीक्षण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

७ वर्ष अघि भूटानी शरणार्थी शिविरमा औलोका विरामी बढेका थिए । साथै पथरी क्षेत्रमा ६ दिन लगाएर ६ सय जनाको परीक्षण गर्दा १६ जना संक्रमित भेटिएका थिए । नियमित उपचारपछि उनीहरु निको भएका थिए ।