जिरोपोइन्ट । धरान–१५ बगरकोटमा भोटे जातिहरूको क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा निर्माण हुने भएको छ । हिमाली शिङ्सावा भोटिया समाज धरानले निर्माण गर्ने भवनको प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले शनिबार शिलान्यास गरिन् । गुम्बा दुई तले बन्ने भएको हो । नयाँ पूस्तालाई जानकारी दिने उद्देश्यले भोटे जातिको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज झल्किने गरी गुम्बा निर्माण गरिने समाजका पूर्वअध्यक्ष निमा फोङ्सुवाले बताए । धरानमा भोटे जातिहरुको गुम्बा छैन । यो नै पहिलो गुम्बा बन्न लागेको हो । समाजका अध्यक्ष मिङ्मा लामाका अनुसार संखुवासभाको माथिल्लो भेगका भोटे जातिहरूका युवा पुस्ता व्यापार व्यावसायमा केन्द्रित हुदै तराई झर्ने क्रममा धरानमा पनि बसोबास गर्न पुगेका छन् । उनीहरुले आफ्नो धर्म परम्पराअनुसार पूजापाठ गर्नको लागि गुम्बा नभएकाले निर्माण गर्न लागिएको उनले बताए । हाल धरानमा भोटे जातिहरुको ३६ घरधुरी रहेको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी उपसभामुख पोखरेलले आगामी आर्थीक वर्षका लागि बजेट सार्वजनिक भइसकेको सन्दर्भमा गुम्बाका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरिन् । प्रदेश १ का विभिन्न जिल्लामा जातीय संग्राहलयको अवधारणा रहेको बताउँदै प्रदेश सरकारले धरानलाई भने विशेष प्राथमिकता दिएको उनले बताइन् । कार्यक्रममा सांसदहरू उमिता बराइली, पदमकुमारी गुरूङ, सरीता थापा, गुम्बा निर्माण समितिका सल्लाहकार रमेश राई, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सुवास हुक्पा चोङ्वाङ लगायतले शुभकामना दिएका थिए ।