पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘बचाउन’ भन्दै एक्सन धरान र धरान स्वतन्त्र समाजले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालय पुगेर एक्सन धरानका अध्यक्ष संचित शर्मा, धरान स्वतन्त्र समाजका महासचिव अजय राई लगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । टोलीले ज्ञापन पत्रका साथै यस अघि धरान र धरान आसपासको क्षेत्रमा चलाइएको विपि बचाउ हस्ताक्षर अभियानबाट संकलन भएको ७० हजार भन्दाबढी हस्ताक्षर समेत बुझाएको छ । पूर्वकै पुरानो सहर मध्येको एक सहर धरानमा अहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक अन्य कुनै कलकारखाना र प्रतिष्ठान नभएको भन्दै धरान स्वतन्त्र समाजका महासचिव अजय राईले भने –‘त्यही भएको एउटा विपि प्रतिष्ठान समेत भ्रष्टाचार र अनियमितताले थलिएको छ र समयमा यसलाई जोगाउन नसके धरान मृत सहरमा परिणत हुनेछ ।’

एक्सन धरानले एक वर्ष अघि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई प्रतिष्ठान सुधारको माग गर्दै ज्ञापन पत्र बुझाएको थियो भने त्यसको सुनुवाई नभएको भन्दै समय समयमा ध्यानाकर्षण समेत गराउदै आएको महासचिव राईले बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले ‘विपि प्रतिष्ठान धरानको मात्र नभई सिंगो राष्ट्रकै ठूलो सम्पत्ति भएको र त्यसलाई केही समय भित्रमा नै व्यवस्थित गरिने’ बताएको महासचिव राईले जानकारी दिए । धरानबाट गएको टोलीले आइतबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समेत भेटेर विपि प्रतिष्ठानको विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री यादवले ‘यस अघिदेखि नै विपि प्रतिष्ठानको विषयमा धेरै असन्तुष्टि पत्रहरु आएको’ भन्दै ‘त्यस विषयमा आफु चिन्तित रहेको’ बताएका थिए ।