विराटनगर । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ अवैध रूपमा हुने मचिर तस्करी झनै मौलाएको छ ।

नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएको कारण आयातकर्ताले नेपालका लागि मगाएर मरिच भारततर्फ अवैध रुपमा तस्करी गर्ने गरेका हुन् ।

तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन । कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तेस्रो मुलुकबाट आयत भएको मरिच विराटनगरका आयतकर्ताहरुले भरिया प्रयोग गरी अवैध रुपमा भारतर्फ लाने गरेको पाइएको छ ।

यसरी नै प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको २५ केजी मरिच इलकार प्रहरी कार्यालय रानी विराटनगरले आइतबार बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा विराटनगरको भन्सार नाका अगाडीबाट मरिच बरामद गरेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । बरामद गरिएको मरिच सोही दिन विराटनगर भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ । भन्सार कार्यालयले मरिच लिलामी गर्ने र मरिच ओसारपसार गर्नेहरुलाई भने धरौटीमा छाड्ने गरेको छ ।

पहिले सुपारी तस्करीमा संलग्नहरु त्यो धन्दा छाडेर अहिले मरिच तस्करीमा संलग्न हुन थालेको प्रहरीको भनाई छ । मरिच तस्करीमा संलग्न भएका कारण पक्राउ गरिएकाहरु पहिले सुपारी तस्करीमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । दैनिक जसो मरिच तस्करी हुन थालेपछि सीमा क्षेत्रमा नियन्त्रणका लागि कडाई गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

तेस्रो मुलुक भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रति किलो ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको अवैध चोरी पैठारी बढेको प्रहरीको भनाई छ ।

यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । सुपारी, सुकुमेल हुँदै अहिले खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले भारततर्फ अवैध रूपमा मरिच तस्करी गर्ने गरेका छन् । झापा, मोरङ, सुनसरीलगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ ।

तेस्रो मुलुकबाट आयत हुने कालो मरिच पछिल्लो समय अस्वाभाविक रूपमा बढेको बताइएको छ । यो बढ्नुको कारण मरिचको तस्करी नै रहेको जनकारहरु बताउछन् । विराटनगर भन्सार कार्यालयबाट गएको वर्षहरुमा भन्दा चालु आर्थिक वर्षमा सयौं गुणा बढी मरिच आयात भएको छ ।