धरान । सम्भावित आपराधिक घटना र सुरक्षालाई मध्यनजर गर्दै पूर्वका मुख्य सहरमा लगाइएका सीसी क्यामेरा यतिखेर नाम मात्रैका छन् । पूर्वको धरान, इटहरी, भद्रपुर, पथरी क्षेत्रमा लगाइएका सीसी क्यामेरा यतिखेर काम नलाग्ने गरी बिग्रिएका छन् । तर सम्बन्धित निकायको चासो नजादा सुरक्षा चूनौती बढिरहेको छ । २०७० सालमा धरानमा चरण–चरण गरेर ३२ वटा सीसी क्यामेरा जडान भए । अहिले ती मध्ये २ वटा मात्रै सञ्चालनमा छन् । ‘ती दुई वटाले पनि मधुरो देखिन्छ । राम्ररी चलेका छैनन् ।’ वडा प्रहरी कार्यालय धरानका प्रमुख सई जसबहादुर लिम्बू भन्छन् । सीसी क्यामेराको नियन्त्रण गर्ने जिम्मा वडा प्रहरी कार्यालयलाई छ । सीसी क्यामेराको मद्दतमा पछिल्लो एकवर्षमा ८ वटा घटनाहरू पत्ता लागेको सई लिम्बू बताउँछन् । उनले भने, ‘दुई महिनाअघि मात्रै एक महिलाको हराएको मोबाइल र पैसा सीसी क्यामेराकै कारण पत्ता लगायौं ।’ अधिकांस सीसी क्यामेराले काम नर्गदा आपराधिक घटनामा संलग्नहरू पत्ता लगाउन समस्या हुने गरेको प्रहरीको भनाइ छ । २०७४ चैत्र १४ गते राति सटर फोडी धरान–९ कलेज रोडको एक मोबाइल पसलमा भएको चोरीको घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । सीसी क्यामेराको लागि प्रदेशले हरेक गाउँपालिका तथा नगरपालिकालाई एक लाख रूपैयाँ बजेट दिएको छ । तर पनि मर्मतमा न त स्थानीय सरकारले ध्यान दिएको छ न त उद्योगी व्यवसायी मातहतको संस्था सुनसरी उद्योग बाणिज्य संघले । सुनसरी उवासङ्घका अध्यक्ष राजेन्द्र साह भन्छन्, ‘मर्मतको लागि तयारी भइरहेको छ । हामीले छलफल गरिरहेका छौं । स्थानीय सरकारलाई एक लाख रूपैयाँ बजेट आइसकेको छ ।’ इटहरीको अवस्था उस्तै छ । इटहरी चौकमा जडान गरीएको (नाईटभिजन ) सिसि क्यामेरा यतिखेर अलपत्र छ । तिन वर्षअघि शान्ती सुरक्षालाई मध्यनजर गर्दै जोडिएका दुई सीसी क्यामेरा बिग्रिएको छ । सम्बन्धित निकाय इटहरी उपमहानगर, उद्योग बाणिज्य सङ्घले मर्मतमा चासो देखाएको छैन । उद्योग बाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष रोहित प्रसाईले बजार क्षेत्रमा राखिएका ४ बटा सिसि क्यामरा मर्मत अभाबमा ब्रिग्रिएको बताए । रातको समयमा ८० मिटर वरपरसम्म देखिने नाइटभिजन सीसी क्यामेरा अलपत्र बनेको उनले बताए । इटहरी उवासंघका सदस्य दिवस पोखरेलले सीसी टिभी बनाउनको लागि सहयोग गरिरहेको बताए । तरहरा आसपासमा राखिएका सीसी क्यामेरा पनि उस्तै गरी बिग्रिएका छन् । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिब श्रेष्ठले सिसि क्यामरा नहुँदा आपराधिक गतिविधि नियन्त्रणमा समस्या भएको बताए । उनले सुरक्षाको हिसाबले इटहरीको मुख्य चोकमा सीसी टिभीको आवश्यकता रहेको बताए । झापाको चन्द्रगढीमा राखिएको सीसी क्यामेराको अवस्था उस्तै छ । एकवर्षयतादेखि बिग्रिएर थन्किएका छन् । तीनलाख ३२ हजार २ सय २० रुपैयाको लागतमा सीसी क्यामेरा जडान गरिएको थियो । त्यसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय झापाले गर्ने गरेको थियो । ०७१ पुस ११ गतेबाट सञ्चालित सीसी क्यामेरा एकवर्षदेखि थन्किएको जिल्ला प्रहरी कार्यालयका प्राविधिक देवेन्द्रबहादुर भण्डारीले बताए । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठकको संयोजकत्वमा गठित समितिले क्यामेरा जडान गरेको थियो । सामुदायिक प्रहरी मुना दाहालले पनि सीसी क्यामेरा हुँदा र नहुँदा को अवस्थामा धेरै फरक भएको बताउँछिन् । व्यवस्थापन समितिका सल्लाहकार पुरुषोत्तम अधिकारी र असारु राजवंशीले यसबारेमा बुझ्दा आफूहरुलाई जानकारी नभएको बताए । क्यामरा भए÷नभएको बारे झापाका एसपी विष्णुकुमार केसी पनि अनभिज्ञ छन् । एक वर्षअघि चन्द्रगढीमा रहेका दुइवटा केवल सञ्चालकबीचको विवादले तार काट्दा सीसी क्यामेरा सञ्चालनमा बाधा पुगेको सामुदायिकका अध्यक्ष दुर्गा पाठकले बताए । थानीय तहको निर्वाचन अघिदेखी सम्बन्धित निकायलाई बारम्बार अनुरोध गरे पनि जडान गर्न कुनै पहल नगरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले बताए ।
(धनबहादुर पुरी/इटहरी, उत्तम नेपाल/भद्रपुर)