बेलबारी । आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र गरिब तथा विपन्न परिवारका आदिवासी जनजातिलाई सोमबार सौर्यबत्ती वितरण गरेको छ । बेलबारी निवासी १८ घरपरिवारलाई जम्मा २ लाख बराबरको सौर्यबत्ती वितरण गरिएको हो । त्यसैगरी १६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई २ लाख रकम बराबरको छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारीको सिङ्गो भूगोल आदिवासी जनजातीको बाहुल्य क्षेत्र भएकाले सामाजिक विकास कार्यमा नगरपालिका सचेत र गम्भीर रहेको बताएका छन् । बेलबारी नगरपालिकाले पुँजीगत निर्माण सुधार कार्यक्रममा समेत आदिवासी जनजाती लगायत सबैलाई समेटेर लग्ने बताएका छन् । यसैबीच तेह्रथुमको म्याङलुङ्ग नगरपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मङ्गलबार शैक्षिक सामग्री प्रदान गरिएको छ । एसबीआई बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकको म्याङलुङ शाखाले विद्यालयमा अध्ययनरत ३२ जना बालबालिकालाई झोला, कपी, सिसाकलम, इराजरलगायतका सामान प्रदान गरेको प्रबन्धक विनोद कपुरीले बताए । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिव तथा विपन्न समुदायका बालबालिकाको पठनपाठनमा निरन्तरता दिन शैक्षिक सामाग्री प्रदान गरिएको प्रबन्धक कपुरीले बताए । विद्यालयमा कक्षा १ देखि १० सम्म ३ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।