तेह्रथुम । राजनीतिक प्रभावका कारण सही सूचना बाहिर आउन नसकेको आठराईमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । सूचनाको हकको लागि चार दिने तालिमको समापन कार्यक्रमका सहभागीले सत्य तथ्य समाचार सम्प्रेषण गर्नमा राजनीतिक हस्तक्षेप हुने बताएका हुन् । सङ्क्रान्ति बजारमा भएको कार्यक्रममा सूचनाको हकको परिचय, सूचना माग्ने तरिका, सूचनाको हकको वर्तमान अवस्था र चुनौतीका बारेमा छलफल गर्दै सूचना सम्बन्धी हकको व्यवहारिक कार्यान्वयनमा सहभागीले जोड दिएका छन् । तालिममा गाउँपालिकामा रहेका प्रत्येक वडाका ५/५ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सूचनाको हकका लागि अभियान्ता कृष्ण विदुखी गौतम र उमेश नेपालीले सहजीकरण गर्दै सूचनाको औचित्य र सामाजिक चासो तथा सार्वजनिक निकायबाट सूचना प्राप्तिका लागि नागरिक सुसूचित हुँदै एकजुट हुन आग्रह गरेका थिए । कार्यक्रममा आठराई क्षेत्रमा सूचनाको हक सम्बन्धी प्रचारप्रसार गरी कार्यान्वयन गर्नका लागि गोपीचन्द्र मिश्रको संयोजकत्वमा ११ सदस्य सूचना अधिकार सञ्जाल आठराई गाउँपालिका पनि गठन गरिएको छ । जसमा विपना घिमिरे, सुमन आचार्य, नवराज भट्राई, सरस्वता पुरी, सुष्मा कन्दङ्गा, रिनु गहतराज, सुशील कन्दङ्गवा र निराजन ओली रहेका छन् । तालिम आठराई गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो ।