भद्रपुर । केही दिन यतादेखि लगातार वर्षा भइरहेपछि झापामा जोखिमबाट बच्न सम्पूर्ण तयारी पूरा गरिएको छ । उच्च जोखिममा रहेका झापाका नौवटा स्थानीय तह पहिचान गरिएको छ । गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, झापा लगायतका गाउँपालिका, गौरादह , शिवसताक्षी कनकाइ र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन् । कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको भएपनि सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र जोखिममा रहेका छन् ।
बर्षाका कारण आउन सक्ने जोखिमलाई मध्यनजर गरेर सम्पूर्ण तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक शतर्कता अपनाउनु पर्ने जस्ता तयारी रहेको उनले बताए । उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको उनले बताए । मैनाचुली जलमापन केन्द्रमा ३ दशमलव ७ मिटर भएमा चेतावनी तह हुने र बढेर ४ दशमलव २ मिटर भएमा खतरा तह भएर गाउँमा पानी पस्ने, साइरन बज्ने, मोबाइलमा म्यासेज आउने लगायतको स्थिति हुने उनले जनाए । मङ्लबारको अवस्थालाई हेर्ने हो भने २ दशमलव ७ मिटरमात्र पानी भएको उनको भनाइ छ । पानीले झापाको दक्षिण क्षेत्रमा एक गाउँबाट अर्को गाउँमा जानसक्ने अवस्था कम हुँदै गएपनि हालसम्म विस्थापितको अवस्था भने नआएको उनले बताए । भद्रपुर नगरपालिकाको वडा नम्बर ३ को मेचीपारी र भैसावाडी यो बर्ष पनि बाढीको खतरामा रहेको वडा अध्यक्ष कमला थुलुङले बताइन् । मेची नदीमा पुल नभएका कारण आवत्–जावत्का लागि सोमबारबाट डुङ्गा सञ्चालनमा ल्याइएको उनले बताइन् । वडामा एउटा ट्युब किन्ने पनि बजेट नभएपछि बुधबार रेडक्रसले प्रदान गर्ने तालिमबाट थप जानकारी हुने उनको भनाइ छ ।
‘बाढीका कारण मेरो वडामा साढे तीनसय घर जोखिममा पर्दैछ ।’ वडाध्यक्ष थुलुङले भनिन् । वडाध्यक्ष भीमबहादुर सुब्बाले २ नं. वडाका गैरीगाउँका चौध घर जोखिममा परेको बताए । गत वर्ष गौरीशङ्र स्कुलमा राखिएको उनले सुनाए । त्यसैगरी वडा नम्बर ५ का पाँचसय घर जोखिममा रहेको अध्यक्ष बन्दु कार्कीले जनाए । मेची किनारको देवी बस्तीदेखि शान्ती टोलसम्मका वासिन्दा रहेकाले गत वर्ष भद्रपुर हाइस्कुल र पशुपति प्राविमा राखिएको उनले जनाए । यो वर्षको लागि मङ्गलबार बसेको नगर विपत् व्यवस्थापनको बैठकले विभिन्न छ वटा कार्यदल बनाएर तयारी अवस्थामा रहेको उनले बताए ।
वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढे पनि पहाडमा वर्षा नभएकाले डराउनु पर्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । वर्षाका कारण मेची, कनकाई, बिरिङ, कमल, टाङ्टिङ, देउनियागायतका खोला तथा नदीमा पानीको बहाव बढे पनि कुनै असर नपुर्याएको सोसाइटीका सभापति ढकालले जानकारी दिए । तराईमा मात्र परेको पानीले त्यति असर नगर्ने भएकाले पहाडमा पानी परेपछि झापामा खतरा बढ्ने उनले बताए ।