भद्रपुर । नेपाल सरकारले झापामा लागु गरेको स्वास्थ्य बीमाको व्यवस्थापन कमजोरीका कारण बिरामीले सास्ती व्यहोर्नु परेको छ । बीमाको सदस्यता लिएका बिरामीले उपचार गरेको वृस्तीत विवरण थाहा नपाउदा हैरानी खेप्नु परेको हो ।
स्वास्थ्य बीमा बोर्डले तोकेको स्वास्थ्य संस्था अन्तरगतका अस्पताल तथा स्वास्थ्य चौकीमा बीमा परिचय–पत्र देखाएर बिरामीहरु निः शुल्क उपचार सेवा लिदै आएका छन् । बिरामीले बनाएको स्वास्थ्य परिचय पत्रमा लेखिएको सदस्यता नम्बरको आधारमा सम्बन्धीत स्वास्थ्य संस्थाले उपचार गराउँदै आएका छन् । तर, बिरामीले उपचारको हिसाब विवरणको अवस्था कस्तो छ, भन्ने बिषयको प्रविधि नहुँदा समस्या जटिल बन्दै आएको छ । सरकारको सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिति मार्फत प्रदेश १ अन्तरगत जिल्लामा सञ्चालित स्वास्थ्य बीमा बोर्डले तोकिएको रकम उपचार पश्चात परिवारजनले आफैले हेर्न नपाउँदा स्वास्थ्य उपचारको नाममा बिरामी मर्कामा पर्दै आएको घट्ना फेला परेको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारर्थ भद्रपुर ६ का ३७ बर्षीय रोशन केवट स्वास्थ्य बीमा सदस्यता लिएर हैरानी भएका छन् । उपचार गराएको रकम भन्दा बढी बीमा खाताबाट घटेको अस्पतालका फर्मेसी कर्मचारीले बताएपछि आफू सेवादेखि दिक्क भएको बताउँछन् । केवटका पाँचजना परिवारको स्वास्थ्य बीमा छ । उनको परिवार मेची अञ्चल अस्पतालमै नियमित उपचार गराउँदै आएका छन् । बीमा सदस्यता नम्बर ०९४४६१५४४ लिएका उनी हात काटिएको थप उपचारका लागि दुइ दिन अघि मेची अस्पताल गएका थिए । यसअघि उपचार गराए बापत उनको परिवारको बीमा खातामा जम्मा २२ हजार २ सय५० रुपैया बाँकी थियो । सोही रकमको आधारमा उनले ओपिडिका चिकित्सकलाई देखाएर हातको उपचार गराएका थिए ।
पुर्जाको ओपिडि शुल्क २ सय र २ सय ३० रुपैयाको औषधि गरी जम्मा ४ सय ३० रुपैया खर्च भएको पुर्जामा उल्लेख छ । तर, अस्पतालका फार्मेसीले उनको पुर्जामा १४ हजार ८ सय ८८ रुपैया लेखिदिए । असार ५ गते २२ हजार २ सय ५० बाट एक्कासी १४ हजार ८ सय ८८ रुपैयामा आएपछि कवट बिरामी पुर्जा लिएर अस्पताल प्रशासन, फार्मेसी , स्वास्थ्य बीमा कार्यालय लगायतका स्थानहरुमा धाइरहेका छन् । ४ सय ५० घटनु पर्नेमा ७ हजार ३ सय ५२ रुपैया पुर्जामा लेखिए पछि अप्ठयारोमा परेको उनले जनाए । त्यसको केहीबेरपछि १६ हजार ९ सय १९ खातामा रहेको अस्पतालले जनाएको उनले बताए । जथाभावी रकम घटाउँदा सरकारले तोकेको ५० हजार रकम उपचार नगराइकन सकिने चिन्तामा छन् उनि।
चिकित्कसले लेखिदिएको सक्कली पुर्जा प्रशासनले राखेर कार्वन भएको दुई वटा पुर्जा बिरामीलाई दिने गरेका छन् । जाँच र औषधिसहित लेखिएको कुरा कार्वन पुर्जामा बुिझदैन । अस्पतालका कर्मचारीले सक्कली पुर्जाको फोटो खिचेर बिरामीलाई पुर्जा फिर्ता नदिएकाले बिरामी अन्यौलमा परेको पाइएको हो । झापामा सरकारले ०७४ असोजबाट लागूहुने गरि अस्पतालहरुमा मेची ,दमक ,आम्दा ,मेची आँखा र लाइफलाइन रहेका छने भने वनियानी शिवगञ्ज,खजुरगाछी,अर्जुनधारा ,सुरुङ्गा र धुलाबारी स्वास्थ्य चौकीमा बीमा सदस्यले उपचार गराउन पाउने दर्ता अधिकारी राधा रिमाल अधिकारीले बताइन् । बिरामीको यस्तो समस्या पहिलो भएको उनको भनाइ छ ।
अस्पतालका कर्मचारीले कम्प्युटरमा गलत विवरण दाखिला गर्दा कहिले काँही यस्तो समस्या आउने स्वास्थ्य बीमा बोर्ड प्रदेश १ का इञ्चार्ज तुलसी पोखरेल बताउँछन् । अस्पतालले ढिलो विवरण दाखिला गर्दा बिरामीहरु समस्यामा परेको हुन सक्ने उनले बताए । अहिले सम्म खर्च गरिएको सम्पूर्ण विवरण बीमा बोर्डको आइटि विभागमा हेरेपछि मात्र थाहा हुने उनले बताए । अस्पतालले सक्कली पुर्जाको फोटो खिचेर नपठाए बीमा रकम स्वीकृत हुदैन, अस्पतालले किन पुर्जा दिएन यस बिषयमा आफु अनभिज्ञ भएको उनले बताए । हामीलाई सम्पूर्ण विवरण हेर्न अधिकार दिएको छैन, यसका लागि केन्द्रिय कार्यालयको आइटी विभागसंग सहकार्य गर्नुपर्छ, यहाँ जम्मा कति रकम बाँकी छ, त्यही मात्र हेर्ने अधिकार दिएको छ ।’ जिल्लागत वा प्रदेशस्तरमै बिरामीको सम्पूर्ण विवरण हेर्ने प्रविधि जडान भए यहिबाट समाधान हुने उनले जानकारी दिए ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्ड पिताम्बर ठाकुरले बीमा बोर्डलाई सक्कली पुर्जा देखाउनु पर्ने भएकोले पुर्जा लिएको बताए । समस्याको समाधानमा अस्पताल प्रशासन लागि परेको उनले जानकारी दिए ।
‘