बिर्तामोड । स्थानीय तहका दलित प्रतिनिधिले आफुहरु ‘थपना’ मात्र भएको बताएका छन् । नगर र गााउपालिकामा बिजयी तथा मनोनित दलित प्रतिनिधिले आफुहरु थपना मात्र भएको बताएका हुन् ।
स्थानीय तहमा दलित सशक्तिकरणका लागि चार बर्षे रणनीति तय गर्नका लागि दलित समन्वय समितिले अर्जुनधारा नगरपालिकामा आयोजना गरेको एकदिने अन्तक्रिया कार्यक्रममा बोल्ने दलित प्रतिनिधीले आफ्नो काम सही गर्ने र फर्किने मात्र भएको बताए । नगरपालिकाका कार्यपालिका सदस्य तथा पुर्वाधार बिकास समितिका संयोजक समेत रहेका रमेश त्रिखत्रीले बैठकमा प्रश्न उठाउन नपाइने गुनासो गरे । ‘केही नराम्रो भन्न पाइदैन, नगरको केन्द्र भनेको शनिश्चरे बजार हो । यसलाई बनाउन भन्दै पटक पटक प्रस्ताव राखें, तर नगरले सुन्दैन ।’ बेला बेलामा त हामीलाई नलगी नहुने भएकाले खाली ठाँउ भर्न मात्र लगिएको हो कि जस्तो लाग्ने गछ, त्रिखत्रीले भने– ‘नगरि नहुने काम धेरै छन् त्यतातिर ध्यान दिँदैनन् ठुलै मान्छे हो म भन्ने सोचेका हो कि । अन्य प्रतिनिधिले हामीलाई टेर्दैनन् ।’ उनले लक्षितका साथै बिपन्न बर्गको उत्थानमा कार्यक्रम ल्याउँ भन्दा पनि नगरपालिकाले चासो नदिएको आरोप लगाए ।
त्रिखत्री मात्र होइन नगरपालिकाका आर्थिक समितिका संयोजक दिलमाया दासले पनि संयोजकका हैसियतले भुमिका निर्वाह गर्न नपाएको बताइन् । उनले बैठकमा सहभागि हुने र सही गरेर फर्किने बाहेक आफुले कनै पनि प्रभावकारी भुमिका निर्वाह गर्न नपाएको गुनासो गरिन् । ‘कुनै पनि कामको नेतृत्व गर्न पाइएन दासले भनिन्–‘हामीलाई कागजमा मात्र जिम्मेवारी दिएको जस्तो भएको छ ।’ उनले दलित महिला, जनजाति तथा आदिवासीका क्षेत्रमा आएको बजेट समेत सहि ढंगले खर्च नभएको बताइन् ।
दलित जनप्रतिनिधीले भुमिकाबिहिन भएको बताइरहँदा त्यसक्षेत्रमा बिनियोजन भएको रकम पनि खर्च हुन नसकेको पाइएको छ । जनप्रतिनिधी र दलित समुदायबीच समन्वय नहुँदा रकम खर्च हुन नसकेको अभियन्ताले जनाएका छन् । बिनियोजित रकम खर्च नभएपछि अन्य शिर्षकमा खर्च गरिएको छ ।
नगरपालिकाले लक्षित बर्गको उत्थानमा छुट्याएको रकम पनि अन्यौलताका कारण सदुपयोग हुन नसकेको पाइएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरब खड्काले वडाका लक्षित बर्गले योजना लिएर आएपछि बजेट प्रदान गर्ने योजना बनाएको बताए । ‘लक्षित बर्गले योजना लिएर आएपछि अध्ययन गरेर बजेट दिने योजना बनाएका थियौं, अध्यक्ष खड्काले भने–‘उहाँहरु आउनु भएन र केही रकम खुल्ला दिशामुक्त योजनामा खर्च गर्याैं ।’
दलित अभियन्ताले भने जनप्रतिनिधीले कार्यक्रम बनाउने भनेर लक्षित प्रस्ताव नगरेको बताएका छन् । दलित समन्वय समितिका नगर संयोजक मोहनलाल पौडेलीले अन्यौलका कारण यसबर्ष दलित हक हितका लागि प्रभावकारी कार्यक्रम गर्न नसकिएको बताए । खड्काले लक्षित बर्गको बजेट सही ढंगले प्रयोग नभएको बताइरहँदा अर्जुनधाराकै ७ र ८ नम्बर वडाले भने आरन, जस्तापाता, बाख्रादेखि बङगुरसम्म वितरण गरेको जनाएका छन् । बिद्यालय जान नपाएका बिद्यार्थीहरुलाई टाई, बेल्ट, किताब कापीसम्म वितरण गरेको बताएका छन् । वडा नम्बर ७ का अध्यक्ष नविन ढुङगानाले लक्षित बर्गलाई बिनियोजित रकम पुर्णरुपमा उपयोग भएको जानकारी दिए । उनले अपाङ्ग ब्राम्हण महिलालाई पनि जिविकोपार्जनका लागि वडाले सहयोग गरेको बताएका छन् ।
दलित समन्वय समिति अर्जुनधाराले लक्षित बर्गमा छुट्याएको रकम सही ढंगले सदुपयोग गर्नका लागि एक दिने अन्तक्रिया आयोजना गरेको छ । समितिले चारबर्षे रणनीति समेत तय गर्ने जनाएको छ । यामबहादुर किसानले सहजिकरण गर्ने कार्यक्रममा नगरका एक सय ५० जनाको सहभागिता रहेको अभियन्ता नरेश खातीले बताए ।