भद्रपुर / आउदै गरेको चाडपर्वलाई मध्यनजर गरि कारोबारीले भारतबाट अवैध बाटो हुदै सरसामान नेपाल त्र्यिाउन थालेका छन् । झापाको भद्रपुरबाट गएराती सशस्त्र प्रहरीले तीनलाख मूल्य बराबरको कपडा बरामद गरेपछि कारोबारीले भन्सार छलेर सामान नेपाल भित्र्याउन थालेको पुष्टि भएको हो । नेपाल तथा भारतको बंगाल तथा बिहार राज्य जोडिएको भद्रपुर नाकाबाट यो समय अर्थात (सिजन) मा करोडौ मुल्य बराबरको लत्ताकपडा नेपाल भित्रिने गरेको विगतकै तथ्यांकले देखाउँछ । तर, भारतको गलगलिया भन्सार भएर भद्रपुर छोटी भन्सार भित्रिने सरसामान अहिले पुनः अवैध नाका प्रयोग गरी व्यापारी तथा कारोबारीले भित्राउँन थालेका छन् ।

भन्सार छलेर नेपाल भित्राइने तस्करीको सामानमा स्थानीय प्रहरीले समेत व्यापारी तथा कारोबारीलाई साथ दिएको स्थानीय स्रोतको दावी छ ।

एक महिना यताबाट कारोबारीले सामान नेपाल ल्याउने गरेको उनिहरुले नै बताएका छन् । शसस्त्र प्रहरीको गस्ती टोलीले भद्रपुर छोटी भन्सार भन्दा आधा किलोमीटर दक्षिणबाट वुधबार विहान ३ बजे भारतबाट टाउकोमा राखेर सात जनाले ल्याउदै गरेको सात पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

प्रहरीलाई देख्ने वित्तिकै कारोबारी र लाइनमेन भागेकोले सामान मात्र बरामद गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ । बरामद गरिएका सामानमा एकसय १६ थान कुर्ता सरुवाल,२९ थानमा रहेको ३ सय ११ मीटर सटिङ् सुटिङको कपडा र तयारी भेस्ट ३ सय ८९ थान गरि २ लाख ९९ हजार १ सय २५ रुपैया मूल्य बराबरको सामान बरामद गरि वुधबारनै मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको शसस्त्रका एसपी रेशम थाक्सुले जानकारी दिए ।

सामान भद्रपुरका व्यापारीको भएको बुझिएको छ । भारत भक्सरभिट्टाका रिज्वान, किनु ,नेमुगुडीका चाँद मोहमद्ले नेग्राडुब्बा ,कुटी,सोनापिण्डी, तारबारी, खट्कटी, कादोगाउँ लगायतका भारतीय नाका प्रयोग गरि मेचीनदी सम्म सामान ल्याउने काम गर्दै आएका छन् । मेचीनदी पार गराएबापत प्रतिपोका एक हजार रुपैया उनिहरुले पाउँछन् । पार गराएको सामानलाई नेपाल तर्फका सम्बन्धित व्यापारीले जिम्मा लिइ जनपथ प्रहरीका केही घुमुवालाई खुसी पारेर कारोबारीले आफ्नो गोदाममा सामान ल्याउने गरेका छन् ।

कारोबारीले कागज मिलाएर विर्तामोड,दमक, इटहरी धरान, काठमाडौ सम्म सामान पुर्याउने गरेका छन् । भद्रपुरमा तीनवटा समूह बनाएर आफनो क्षमता अनुसार दायाँवायाँबाट काम गरिरहेको पाइएको छ । सो समूहले इलाम,सुनसरी,मोरङ् लगायतको नाका प्रयोग गरि सामान वैध बनाउन केही पोका भन्सार काटेर बाँकी दैनिक साढे दुइसय पोका सम्म नेपाल ल्याउने गरेको व्यापारीले बताउँछन् ।

भद्रपुरमा काम गर्नको लागि केही समूह आन्तरिक कसरतमा जुटेका छन् भने अर्को समूहले खुल्ला नाका प्रयोग गरि कारोबारलाई जारी राखेका छन् । केही व्यापारी भने भन्सारका कर्मचारीसँग सहमति गरि सामानको पचास प्रतिशत भन्सार तिरेर कारोबार गरिरहेका छन् ।

केही दिन अघि ठुला व्यापारीलाइ सहुलियत र सानालाई नियम लगाएको भन्दै साना व्यापारीले भन्सार कर्मचारीप्रति आपत्ती जनाएको एक कारोबारीले बताए । भन्सारमा अनियमितता हुने गरेको जानकारी आएपछि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा पटक पटक जानकारी गराउँदा उल्टै भन्सार कर्मचारी मार्फंत व्यापारीलाई जानकारी हुने गरेकोले भन्सार देखि राजस्व अनुसन्धान सम्मको ‘सेटिङ्’ हुने गरेको स्रोतले जनाएको छ ।