जिरोपोइन्ट । धरानस्थित मालपोत कार्यालयका काम अब अनलाइनमार्फत् हुने भएको छ । सेवाग्राहीको सम्पूर्ण विवरण अनलाइनमा राखिएको छ । अब कागजातमार्फत् हुँदै आएको सबै काम अनलाइनमार्फत् हुनेछ । जग्गासँग सम्बन्धित सम्पूर्ण विवरण अनलाइनमा राखिएको कार्यलयका प्रमुख यज्ञप्रसाद भण्डारीले बताए । अनलाइन प्रयोगको सुरुआतमा सबै कर्मचारी दक्ष नभएको कारण केही समय प्राविधिक कठिनाइ पनि हुनसक्ने भण्डारीले बताए । यो अनलाइन सेवाबाट लाभ लिन सेवाग्राही पहिले जस्तै कार्यलय नै पुग्नु पर्नेछ । पहिले जुन स्थानको जग्गा हो त्यसको जानकारी लिन उक्त स्थानको मालपोत कार्यलयमा जानु पर्ने बाध्यता रहेको थियो तर यो अनलाइन भएको अन्य जुनसुकै कार्यलयमा गएर पनि आफ्नो जग्गाको स्थिति बुझ्न सकिने सफ्टवेर इन्जिनियर रूपकराज घिमिरेले बताए । घिमिरेका अनुसार हाल धरानसहित देशभर २५ ओटा मालपोत अनलाइनमार्फत् सञ्चालन सुरु भइसकेको छ ।