जिरोपोइन्ट । उद्घाटन गरेको महिना दिन बित्न नपाउँदै धनकुटे पुलका छेउछाउका सतह भासिन थालेपछि पुलको संरचना जोखिममा परेको छ । २०७२ असोज ८ गते भत्किएको धरान–८ र १९ लाई जोड्ने धनकुटे रोडको पुल बैसाख २६ गते उद्घाटन गरिएको थियो । उद्घाटनको एक महिना नबित्दै सतह भासिन थालेको हो । सडक डिभिजन कार्यालय विराटनगरले पाण्डुकेश्वर श्याम कन्स्ट्रक्सनलाई पुल निर्माणको जिम्मा दिएको थियो । तामझामका साथ उद्घाटन गरिएको पुल पुनः पुरानै अवस्थामा फर्किने खतरा बढेको छ । पुल छेउछाउका संरचना भासिन थालेपछि स्थानीय आक्रोसित बनेका छन् । पानी परेको एक दिनमा नै रोड भासिन थालेको बताउने सन्तोष घतानीले बर्खाभरिमा के होला ? भन्दै चिन्ता व्यक्त गरे । पुल निर्माण भए पनि भासिन थालेपछि स्थानीयमा खुसीयाली छाएको छैन । धरान–१९ का स्थानीय ज्ञानबहादुर श्रेष्ठले पुल पुरानै अवस्थामा फर्किन लागेकाले बनेर पनि कुनै फाइदा नभएको बताए ।

धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार प्राविधिक जाँच गर्दा पुल एकदमै बलियो रहेको छ । तर पुललाई सुरक्षा दिन बलियो बाँधको आवश्यकता भए पनि उक्त बाँध निर्माण नर्गदा सडक भासिन थालेको बताए । उनले निर्माणका लागि पूर्णता दिन धरान उपमहानगरपालिकाले डिभिजन सडक कार्यालयलाई सिफारीस समेत पठाएको बताए ।

डिभिजन सडक कार्यालयका विराटनगरका प्रमुख इञ्जिनियर दिपेन्द्रकुमार चौधरीले पुल निर्माण गर्दा ड्रेनको प्रयोग राम्रो नभएको कारणले बाटो भासिएको बताए । उनले खुकुलो संरचनाका कारण पुल छेउछाउ भासिएको बताए । उनले काम सुरु गरिसकेको बताए ।