पानवारी । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तनाव सृजना भएको छ । ‘नर्मल प्रशुति’ मार्फत् गत शनिबार शिशुको जन्म दिएकी भोजपुर हतुवागढी–८ की हिरामाया राईको पाँचदिनपछि बुधबार अचानक मृत्यु भएपछि आफन्तजन आन्दोलित बनेका हुन् । स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा सिरिञ्जमार्फत् दिएको औषधिपछि बुधबार सुत्केरीको एक्कासी मृत्यु भएको आफन्तजनले बताएका छन् । आफन्तजनले राईको मृत्युको कारण खोजेका छन् । अस्पताल प्रशासनसँग मृत्युको कारणबारे लिखित जवाफ माग्दै राईको शवसमेत बुझेका छैनन् । प्रतिष्ठानको मृतकको शव शवगृहमा राखेको छ । बिहीबार प्रशासन र बिरामीका आफन्तबीच छलफल चलेको थियो । छलफलका क्रममा प्रशासनले लिखित जवाफ दिने भने पनि चित्त बुझ्दो जवाफ नआएकाले शव नबुझेको मृतकका बडाबा ससुरा मौलाधन राईले बताए । उनका अनुसार बच्चा जन्मिएपछि सुत्केरीको अवस्था समान्य रहेको र चिकित्सकहरुले समेत डिस्चार्ज दिने तयारी गरिरहेका बेला अचानक केही सामान्य समस्या छ भन्दै डिस्चार्ज नदिएर सुईमार्फत् औषधि लगाउने बित्तिकै बिरामीको मृत्यु भयो । बच्चाको स्वाशप्रश्वासमा समस्या रहेको भन्दै यस अगाडि नै धरानस्थित विजयपुर अस्पतालमा रेफर गरिएको थियो भने बच्चाको स्वास्थ्य स्थिति हाल सामान्य रहेको परिवारतले बताए । प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर साहले सुत्केरीको मृत्यु चिकित्सकको लापरवाहीले नभएको दाबी गरे । उनले विरामीको मृत्युको कारण ‘डेथ सर्टिफिकेट’ मा समेत उल्लेख हुने भएकाले आफन्तले मागेजस्तो विवरण दिन नसकिने बताए । उनले भने, ‘हामीले मृत्युको कारणबारे बताइदिएका छौं । डेथ सर्टिफिकेटमा राखिएकै हुन्छ । मृतकका आफन्तले मागेजस्तो विवरण कि त अदालतलाई दिन सकिन्छ कि त प्रहरीलाई दिन सकिन्छ ।’ वैदेशिक रोजगारीका क्रममा मृतक हिरामाया राई र उनका श्रीमान् मलेसियामा रहेका थिए । विदेशमा बच्चा जन्माउने कानून नभएका कारण गत पुषमा नेपाल आएका थिए । श्रीमान अहिले पनि मलेसियामै छन् । उनी शुक्रबार नेपाली आउने नेपाल आइपुग्ने परिवारजनले बताएको छ ।