बिर्तामोड । बिर्तामोडको कृषि उपज बजार स्थलमा रहेको विषादि परीक्षण प्रयोगशालामा एकवर्ष यता परीक्षण भएका तरकारी र फलफूल विषादिरहित पाइएको छ ।
प्रयोगशाला स्थापनापछि नमुना सङ्कलन गरेर निरन्तर विषादि परिक्षण भइरहेको छ । परीक्षणका क्रममा खान अयोग्य तरकारी र फलफूल नभेटिएको प्रयोगशालाका प्राविधिक सहायक अञ्जु आचार्यले बताइन् । ०७४ जेठदेखि तरकारीमा विषादि परीक्षण गर्न थालिएको हो । भदौदेखि नियमित रूपमा परीक्षण गर्न थालिएको भए पनि नियन्त्रणको लागि कार्यविधि गत फागुनदेखि मात्र लागू भएको हो । कार्यविधिमा शुन्यदेखि ३४ प्रतिशतसम्म इन्जाइमको वृद्धि विकास रोक्ने खालका तरकारी र फलफूल उपभोग गर्न कुनै अवरोध नगरिने उल्लेख छ । त्यस्तै ३५ देखि ४५ प्रतिशतसम्म असर गर्ने विषादियुक्त खाद्यान्न चारदिनसम्म भण्डारण गरेर उपभोग गर्न सकिने आचार्यले बताइन् । त्योभन्दा बढी विषादिको मात्रा भएको खाद्यान्न नष्ट गर्नुपर्ने बताइन् । बिर्तामोडको कृषिथोक बजार प्रदेश नम्बर १ को सबैभन्दा ठूलो कारोबार गर्ने कृषि बजार हो । यहाँ दैनिक ६० लाख रुपैयाँको तरकारी र २० लाख रुपैंयाँको फलफूलको कारोबार हुने कृषिउपज बजार व्यवस्थापन समितिका तथ्याङ्क शाखाकी कर्मचारी माया राजवंशीले बताइन् । बिर्तामोडमा बिक्री हुनेमध्ये ७० प्रतिशत तरकारी र ८० प्रतिशत फलफूलको स्रोत भारतीय बजार भएको जानकारी उनले दिइन् ।
अहिले व्यापारीले तरकारी ल्याएपछि पहिलेको जस्तै सहजै अनलोड गर्न पाउँदैनन् । त्यहाँ विषादि परीक्षण प्रयोगशालाका प्राविधिकले नमुना सङ्कलन गर्ने गरेका छन् । नमुना सङ्कलन गरेको एक घण्टापछि त्यसमा भएको विषादिको मात्रा पत्ता लाग्छ । त्यसपछि उपभोग गर्न योग्य भयो भनेमात्र गाडीबाट तरकारी अनलोड हुन्छ । भण्डारण गरेर चारदिनपछि उपभोग गर्नुपर्ने भयो भने बिक्रेतालाई भण्डारण गर्न लगाउने गरेको आचार्यले बताइन् । विषादिको मात्रा त्यो भन्दा बढी भए स्थानीय प्रशासनले त्यसलाई नष्ट गर्ने उनले बताइन् ।
कार्यान्वयनमा कडाइ भएन विषादिको मात्रा परीक्षण गर्ने प्रयोगशाला दुईवर्ष अघि प्याग नामक संस्थाले स्थापना गरिदिएको हो । प्रयोगशालाको प्रभावकारी कार्यान्वयन भने नभएको पाइएको छ । कतिपय देशमा प्रयोगशालामा परीक्षण गरेरमात्र तरकारी बिक्री वितरणका लागि अनुमति दिइन्छ । तर, कडाइका साथ कार्यान्वयन गर्ने संयन्त्र नहुँदा त्यसको प्रभाव नपरेको हो । नेपालमा उत्पादित तरकारीभन्दा भारतबाट आयातित तरकारी तथा फलफूलमा अत्यधिक विषादि भेटिने गरेको प्राविधिकको अनुभव छ । भारतबाट आउने तरकारी तथा फलफूल क्वारेन्टाइनमा चेकजाँच भएर आउनु पर्ने हो । तर, अधिकांश तरकारी बिना चेकजाँच आउने हुनाले विषादियुक्त तरकारी तथा फलफूल खुलेआम बिक्री वितरण भइरहेका छन् । आलु, प्याज, सिम्ला, काउली, ब्रो काउली, भन्टा लगायतका तरकारी अधिकांश फलफूल भारतबाट आउने गरेको तथ्याङ्क शाखाकी कर्मचारी राजवंशीले बताइन् । चिकित्सकका अनुसार विषादियुक्त तरकारी तथा फलफूल सेवन गर्दा वाक्वाक् लाग्ने, रिँगटा चल्ने, अपच हुनेजस्ता लक्षण देखिने गरेको छ । यस्ता खाद्यवस्तु सेवनले दीर्घरोग, क्यान्सर, दम, मानसिक समस्याजस्ता रोगहरू लाग्न सक्ने चिकित्सकको भनाइ छ । झापामा बिक्री हुने तरकारी मध्ये ५० प्रतिशत भन्दा बढी तरकारी तथा फलफूल खान अयोग्य हुने गरेको पाइएको छ । कृषि बजारकी व्यापारी सरु राजवंशीका अनुसार बेमौसमी तरकारी धेरै बिक्ने गरेको छ । तर, त्यस्ता तरकारीमै बढी विषादि हु्ने कृषि विज्ञ राजेन्द्र कडरियाको भनाइ छ । कडरियाले भने ‘यस्ता तरकारी खाँदा केही घण्टा पानीमा डुबाएर अथवा केही समय फ्रिजमा राखेर खाएमा विषादिको मात्रा कम हुन्छ ।’