भद्रपुर । नेकपा विप्लव समूहको आरोपमा पक्राउ परेका दुइजनालाई प्रहरीले पुन मेडिकल गर्ने भन्दै लगेको छ । इलाम नगरपालिका १ नेपालटारका ३० वर्षीय विमल राई तथा सोही ठाउँका २८ वर्षीय विशाल राईलाई जिल्ला प्रशासन कार्यालय झापाले विहीबार धरौटीमा छाड्ने वित्तिकै प्रशासन कार्यालय भित्रबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । प्रति व्यत्ति एक हजार धरौटी बुझाएर बिना हत्कडी बाहिर निस्कदै गर्दा इन्सपेक्टरको नेतृत्वमा गएको प्रहरी टोलीले मेडिकल गर्ने अनि पत्रकार सम्मेलन घरैमा बोलाएर गर्नु भन्दै तानेर प्रहरीको गाडीमा हालेका थिए । ‘हामीले के विगारेका छौ , धरौटी तिरेर निस्केकोले पत्रकारसँग कुरा राख्न पाउनु पर्ने भनिरहेपनि प्रहरीले हिड्नुस भन्दै लिएर गएका थिए । गत चैत्र १५ गते घरबाटै नकपा विप्लव समूहको कार्यकर्ता भनेर प्रहरीले पक्राउ गरी पाँचथर, ताप्लेजुङ हुँदै झापाको इलाका प्रहरी कार्यालय धुलावारीमा २७ दिन हिरासतमा राखेको उनिहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यलयबाट धरौटीमा रिहा भएपछि राई द्वयले विप्लव समूहमा नरहेको प्रष्ट पारिरहेपनि प्रहरीले मेडिकल गर्न भन्दै लगेको थियो । एक सय १० दिन मेची अञ्चलका विभिन्न प्रहरीको हिरासतमा परेका उनिहरुले आफूहरु स्वतन्त्र नागरिकका रुपमा रहेको स्पष्ट पारेका थिए । हिरासतमा रहेको अवस्थामा राखिएका सामान जिम्मा लगाउन प्रहरीले लगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले बताए । धरौटी बुझाइसकेकोले पक्राउ गर्न नमिल्ने बताउदै अन्य जिल्लामा उनिहरुको मुद्दा भएमा प्रहरीले नियन्त्रणमा लिने उनको भनाई छ ।