धनकुटा / धनकुटाको हिले देखी धरानतर्फ जाँदै गरेको यात्रु वाहकमाईक्रोबस धनकुटा नगरपालिका वडा नं.७ रमाईलो घुम्तीमा दुर्घटना हुँदा १८ जना बसमा सवार यात्रु घाईते भएका छन् ।
कोशी लाेकमार्गको धनकुटा हिले सडक खण्डमा को १ ख २८४७ नम्बरको यात्रुवाहक फोर्स माईक्रोबस तिब्र गतीका कारण शुक्रबार बिहान ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । धनकुटाको हिले देखी धरानतर्फ आउँदै गर्दा धनकुटा–६ नाशलचोक देखी परिचयमोड हुँदै अघि बढेको माईक्रो ओरालोमा तिब्रगतीका कारण दुर्घटना भएको दुर्घटनामा घाईते भै जिल्ला अस्पताल धनकुटामा उपचार गराईरहेका पशुपति पोखरेलले ब्लाष्टलाई बताए । उनी शिक्षा आयोगको परिक्षाको फर्म भर्न आफ्ना श्रीमती र छोरीका संगै इलाम जाँदै थिए ।
दुर्घटनामा गम्भिर घाईते भएका धनपा –७ कलेजरोडका कमला भुजेल, पाख्रीवास –५ का सुरज तामाङ र छथर जोरपाटी गाउँपालिका वडा नं. २ सल्लेका वर्ष ७५ कीगामाया दर्लामी गम्भिर घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि तत्काल विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरान रेफर गरिएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.फडिन्द्र प्रसाद बरालले बताएका छन् । दुर्घटनामा परि अन्य घाईतेहरुमा धनपा –६ का कल्पना पोखरेल, कृतिका पोखरेल, पशुपति पोखरेल, धनपा –१० का प्रदिप दाहाल, धनपा–७ का लुना भुजेल, छथर जोरपाटी वडा नं.७ का गंगा बहादुर थापा, धनपा–४ का इन्द्र बहादुर पौडेल, धनपा–७ का सुयोग भुजेल, धनपा–१ का सुजन मगर, डिल्ली मल्ल ठकुरी, पाख्रीवास नगरपालिका वडा नं.६ का राजेन्द्र तामाङ, उदयपुर घर भएका खुशिला चौधरी, दिनेश चौधरी, अनिता चौधरी, जुम्ला घर भएका धनबहादुर बोहोरा र बिकास देवकोटा रहेका छन् । माईक्रो बसका चालक (नामनखुलेका) प्रहरी नियन्त्रणमा छन् भने सह–चालक उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका छन् ।