पानवारी । सुनसरी सृजनशिल परिवार नेपालले शुक्रबारदेखि एम्बुलेन्स सेवा सुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले एम्बुलेन्स सेवाको सुचारु गरेका हुन् । वैदेशिक रोजगारको क्रममा कतारमा रहेका सुनसरीका युवाहरुले कतारमा स्थापना गरेको संस्था सुनसरी सृजनशिल परिवारले बिगतदेखि नै शिक्षा क्षेत्रमा विभिन्न अनुदान तथा सहयोग गर्दै आएको छ ।
सुनसरीको रामधुनी नगरपालिकाबाट सेवा दिने गरी एम्बुलेन्स सेवाको सुरुवात गरिएको परिवारका अध्यक्ष पुष्कर कार्कीले बताएका छन् । एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा एम्बुलेन्स खरिदका लागी सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख प्रदीप भण्डारीले वैदेशिक रोजगारमा रहेका युवाहरुले देशको निम्ति ठूलो योगदान गर्दै आएको बताएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौला, रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी, नेकपा जिल्ला नेता नन्द बस्नेत लगायतको उपस्थिति रहेको थियो ।