विराटनगर / मोरङको केराबारी गाउँपालिका ७ मा पर्ने खदम खोलामा आएको बाढीमा बगेका ६ बर्षिय बालकलाई दुई जना प्रहरीले उद्धार गरेका छन् ।
खोलामा खेल्नेक्रममा बिहिबार साँझ ५ बजेतिर एक्कासी बाढीमा बग्न पुगेका सोही ठाउँका अमृत दुलालका ६ बर्षिय छोरा अनसल दुलाललाई इलाका प्रहरी कार्यालय केरावारीका प्रहरीले उद्धार गरेको हो । बाबु आमा खेतमा काम गर्न गएको बेला खोला किनारमा खेल्नेक्रममा बालक अनसल तेज धार भएको खदम खोलामा बग्न पुगेका थिए ।
बालक चिच्याउँदै बगेको देखेपछि खोलामै डयुटी गरिरहेका इलाका प्रहरी कार्यालयका प्रहरी जवानद्धोय रजबिन यादब र सुरेश थामीले खोलामा पसेर पौडी खेल्दै उनको उद्धार गरेका हुन् ।
खोलाको बाढीले बालकलाई साठी मिटर तल बगाइसकेको अवस्थामा पनि प्रहरी जवानहरुले खोलामा पसेर उनको उद्धार गर्न सफल भएको इप्रका केरावारीका सई दिपक यादबले बताए । उद्धार गर्ने क्रमामा प्रहरीहरु समान्य घाइते भएका थिए । उद्धार गरिएका बालकको अवस्था समान्य छ ।
खोलामा हुने अबैध उत्खननलाई नियन्त्रण गर्न केरावारी प्रहरीले चौबिसै घण्टा आजकल प्रहरी खटाउने गरेको छ । खोलाको बाढीमा बगेका बालकको उद्धार गर्न सफल भएपछि गाउँलेहरुले प्रहरीको प्रशंसा गरेका छन् ।