विराटनगर / पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र एक व्यक्तिको भरमा निर्णय हुन नहुने बताएका छन् । विराटनगरस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित मोरङका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले पार्टीको अध्यक्ष खुसी हुँदा र दुःखी हुँदा निर्णय गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने बताए । पार्टीका कुनै पनि निर्णय गर्दा सामूहिक ढंगले हुनुपर्ने नेपालको भनाइ छ ।
प्रशिक्षण कार्यक्रमा बोल्दै नेता नेपालले गाउँगाउँमा पार्टी भएपनि भए जस्तो नभएको बताए । गरिव जनतामार्ने काम गाउँमा भइरहँदा पार्टीमा आवद्ध मानिसहरु नबोल्ने गरेको भन्दै उनले त्यसखालको प्रवृत्तीलाई निरुत्साहित गर्ने र दुःख पर्दा बोल्ने खालको पार्टी बनाउनु पर्नेमा जोड दिए ।
नेता नेपालले गोविन्द केसीको अनसन पूर्वाग्रहबाट प्रेरित भएको बताए । विपी कोइरालाको नाम आउँदा नबोल्ने मजा लिने र मनमोहनको नाम आउँदा केसीले अनसन बस्ने गरेको बताउँदै नेता नेपालले राजनीतिक आग्रहका आधारमा गरिएको कुनै पनि गतिविधि मान्य नहुने बताए ।
नेपालले पार्टीलाई गतिशिल बनाउन आवश्यक भएको बताउँदै पार्टी कमिटि र पद्धती नमान्ने प्रवृत्तीलाई निरुत्साहित गर्नुपर्ने पनि बताए ।