इनरुवा । जिल्ला समन्वय समिति सुनसरीले असार मसान्तभित्र कार्य सम्पन्न गर्ने जिम्मेबारी पाएका निर्माण कम्पनीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएको छ । तोकिएको जिम्मेबारी अनुरूपको कार्य भए नभएको जानकारी सङ्कलनको उद्देश्यसाथ जिसस सुनसरीको टोलीले जिल्लामा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेको हो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारी नेतृत्वको टोलीले प्राविधिकसहितको उपस्थितीमा निर्माणाधिन तथा निर्माण सम्पन्न योजनाको स्थलगत जानकारी बटुलेको हो । इञ्जिनियर तथा प्राविधिकसहित अनुगमनमा गएको टोलीले ग्राभेल, पिच, कल्भर्ट, पक्की पुल तथा झोलुङ्गे पुलको अवस्थाबारे जानकारी लिएको हो । प्राविधिक चेकजाँचका क्रममा कमसल काम भएको पाइए प्राप्त प्रतिवेदनका आधारमा सम्बन्धित ठेकेदार उपर कारबाही गरिने जिसस प्रमुख भण्डारीले बताए । चालु आर्थिक वर्षको अन्तिम अवधि चलिरहेको हुनाले हतारमा काम सकी भुक्तानी लिने परिपाटीका कारण निर्माण कार्य कमसल हुन सक्ने तर्फ जिसस सुनसरी सर्तक रहेको भण्डारीको भनाइ छ । जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईसहित जिससका पदाधिकारीका साथै जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इञ्जिनियरसहितको प्राविधिक टोलीले विकासे योजना स्थलगत अनुगमन गरेको हो ।
टोलीले धरान स्थित खोरिया बस्तीमा सेउती खोलामाथि निर्माणाधिन पक्की पुल, तालतलैया पानी पियादेखि देवी थान सडकमा निर्माणाधिन बक्स कलभर्ट, इटहरीको खोर्सानेखाप, शेरा खोला झोलुङगे पुल, धरानको जोर सखुवा, विष्णुपादुका जोड्ने खोलामाथिको झोलुङगे पुल लगायतका योजनाहरुको अनुगमन गरेको थियो । जिल्ला समन्वय समिति सुनसरीका सदस्य चिरञ्जिवी बस्नेतका अनुसार जिल्लाका सबै स्थानीय तहमा भैरहेका विकास निर्माणलगायतका विषयमा समेत स्थलगत अनुगमनको कार्य जारी रहेको छ ।