तेह्रथुम / लालिगुरास नगरपालिकाको बसन्तपुर देखि म्याङलुङ्ग सम्म सडक निर्माण भएको ३० वर्ष बितिसक्दा पनि बाह्रै महिना सवारी साधन चल्न नसक्दा यात्रुलाई सास्ती भएको छ ।
बसन्तपुर देखि म्याङलुङ सम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्ष वितिसक्दा पनि बाह्रै महिना सवारी साधन चल्न नसक्दा यात्रुलाई सास्ती भएको हो. । धरान, धनकुटा, बसन्तपुर हुदै म्याङलुङ सम्म चल्ने यातायातका साधन सडक हिलाम्मे भएका कारण सयैं यात्रुहरु बाटोमानै अलपत्र पर्ने गरेका छन् ।
सोही सडकमा अरबाैं रुपैया खर्च गरिएर ५ वर्ष अगाडी पिच गरिए पनि ठेकेदारले गुणस्तरीय काम नगर्दा सडक हिलाम्मे भएको रेडक्रस सभापति श्रीकृष्ण दाहालले बताए ।
सडक हिलाम्मे भए पछि सदरमुकाम र जिल्ला अस्पताल आवत जावत गर्नक लागि समस्या हुन थालेको छ । एक महिना देखि सडक हिलाम्मे भएकाले एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई सास्ती भएको सभापति दाहालले बताए । सडक हिलाम्मे भएर सयौं यात्रुलाई सास्ती हुदा पनि जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीयबासीले आक्रोस ब्यक्त गर्न थालेका छन् ।
‘अरवैं रुपैया खर्च गरिएर पटक पटक पिच गरिएको सडक अहिले बर्षाका कारण क्षतविक्षत भएको छ ।’ स्थानीयवासी रेन्जी शेर्र्पाले भने ।
सडकमा एम्वुलेन्स लगायत साना सवारी साधन चन्न नसक्दा विरामीलाई सुविधा सम्पन्न ठाउँसम्म पुर्याउन समस्या हुन थालेको छ । जिल्ला भित्रिने एक मात्र सडक तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । कोशी राजमार्गसँग जोडिएको यो सडक मर्मत सम्भारका लागि बर्षेनी करोडौँ रुपैयाँ खर्चिए पनि सडक भने जस्ताको त्यस्तै रहेको छ ।
पाँच वर्षअघि पहिलो पटक सडक कालोपत्रे भएको थियो । अहिले कालोपत्रे उप्किएर सडक कच्ची बनेकोे छ । सडकको केही खण्ड भासिएको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा २६ किलोमिटर दुरीको सडक पार गर्न गाडीलाई पाँच घण्टासम्म लाग्ने गरेको छ । गाडी फसेर घण्टौँसम्म सडक जाम हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुग्न मुस्किल पर्ने गरेको मात्रुभाग्यरेखाका चालक गंगा बुढाथोकीले बताए ।
‘हरेक दिनजसो गाडी फसेर यात्रुको बिचल्ली भइरहेको छ ।’ उनले भने । साँघुरो सडक हिलाम्मे भएपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको जिल्ला ट्राफिक कार्यालय तेह्रथुमका प्रमुख योगेन्द्र कुमार दाहालले बताए । ‘घाम लाग्दा पुरै गाउँ नै ढाक्ने गरी धुलो उड्छ’, सुर्केका यादव दाहालले बताए । दुईघण्टा पानी पर्ने वितिकै हिलाम्मे भएर आवतजावतमै समस्या हुन्छ ।’ हिउँदमा धुलोका बीच दुःखले गाडी सञ्चालन भएपनि वर्खाका बेला निरन्तर सडक अवरुद्ध हुने गरेको छ ।
गएको वर्ष पनि वर्षामा करिब तीन महिना साना गाडी बसन्तपुरदेखि यता आएनन् । यो वर्ष पनि दुई महिनादेखि साना सवारी साधनहरु बसन्तपुरबाट कटेर जान नसक्ने यातायात ब्यवसायी डिल्ली रेग्मीले बताए । क्षतिग्रस्त सडकमा यात्रा गर्दा बिरामी पर्ने गरी थकित हुनुपर्ने यात्रु बताउँछन् । विगतमा हरेक वर्ष सडक डिभिजन कार्यालयले मर्मत सम्भारको काम गर्दै आएको यो सडक निर्माणाधीन मध्यपहाडी लोकमार्गले जिम्मा लिएपछि मर्मतको काममा समेत ढिलाइ भइरहेको रेडक्रसका केन्द्रिय सदस्य भुपतिलाल श्रेष्ठको गुनासो छ ।
लोकमार्ग आयोजनाले सडकको चौडा विस्तार र कालोपत्रेसम्मका लागि ठेक्का लगाउने भने पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँको टेण्डर भएर विभिन्न खण्डमा मर्मतको काम भइरहेको लोकमार्गका इन्जियिनर सुरेश तुम्बाहाम्फले बताए । वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रा गर्न अत्यन्तै कठीन हुने ट्याक्सी ब्यवसायी सन्तोष लिङलेखुले बताए ।
‘सडक मर्मतका लागि बजेट पनि आइरहेकै छ, मर्मतको काम पनि भएकै छ । तर दिगो र भरपर्दो काम नहुँदा सडकको अवस्था भने जःताको तस्तै छ ।’
उनले भने । सडकको अवस्था हेर्दा यो सडकमा मर्मत सम्भारको काम भएको भनेर जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । ‘कालोपत्रे भन्नु त नाम मात्र हो, सडक हिडिसक्नु छैन’, पुर्व जिविस सभापति किशोरचन्द्र दुलालले भने । म्याङलुङबाट बस चढ्दा पाँच घण्टासम्म लगाएर मात्र बसन्तपुर पुगिने गरेको उनको भनाई छ ।
पूर्वका झापा, मोरङ्ग, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकामलाई जोड्ने तथा जिल्लाका विभिन्न गाउँहरुलाई सदरमुकामसँग जोड्ने यो कालोपत्रे सडक भत्किएपछि गाडी चलाउन समस्या भएको हो । यो सडक खण्डको चित्रेदेखि बसन्तपुर बजार क्षेत्रमा समेत सडकमा कालोपत्रे उप्किएर लथालिङ्ग बनेको छ । बसन्तपुर बजार क्षेत्रकै सडक हिलाम्मे भएर आवतजावतमा समस्या भइरहेको छ ।
अवको दुई–चार दिन सम्म पनि सडक मर्मतको लागि भरपर्दो तरिकाले काम गरिएन भने बसन्तपुर देखि म्याङलुङ सम्म बस सञ्चालन गर्न नसकिने बस चालकहरु बताउछन् ।