बिर्तामोड । झापाको बिभिन्न स्थानमा कालोपत्रे गर्नका लागि गुणस्तरहिन ‘प्रिमिक्स कार्पेटिङ’ प्रयोग भएको पाइएको छ । चन्द्रगढीको शिव निर्माण सेवाले कनकाई नगरपालिकामा स्थापना गरेको आस्पाइ्ल्ट प्लाण्टबाट उत्पादन भएको कालोपत्रे गर्ने सामग्री गुणस्तरहिन भएको पाइएको हो ।
सडक कालोपत्रे गर्नका लागि सो प्लाण्टले गिटी, बिटुमिन र बालुवा मिक्स गर्दै प्रिमिक्स कार्पेटिङ उत्पादन गरेर उपलब्ध गराउँदै आएको छ । उक्त प्लाण्टबाट उत्पादन भएका सामग्री गुणस्तरहिन भएको निर्माण ब्यवसायीको आरोप रहेको छ । सो प्लाण्टबाट उत्पादित सामग्री प्रयोग गरेर कालोपत्रे गरिंदा बनाइनसक्दै भत्किन थालेपछि जनप्रतिनिधी सहित स्थानीयले बिरोध गरेका थिए ।
कनकाईमा स्थापना भएको प्लाण्टबाट उत्पादित सामग्रीको प्रयोग गरेर अर्जुनधारा–हात्तिकिल्ला–जयपुर सम्मको ६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै धरमपुर–पारावारी, घैलाडुब्बाको लक्ष्मीपुर तथा मेचीनगरको बिभिन्न क्षेत्रमा भएको सडकमा त्यहाँ उत्पादित प्रिमिक्स कार्पेटिङ प्रयोग गरिएको थियो । त्यहाँ उत्पादित सामग्री प्रयोग गरेर निर्माण गरिएका सम्पुर्ण सडकको अलकत्रा उक्किन थालेपछि उत्पादनमा समस्या आएको निर्माण ब्यवसायीले बताएका छन् ।
सो प्लाण्टबाट उत्पादन भएको प्रिमिक्स कार्पेटिङ प्रयोग गरेर लक्ष्मीपुरमा कालोपत्रे गर्दा नजोडिएपछि झापाली बिल्डर्सले आफै अर्काे सामग्री उत्पादन गरेर कालोपत्रे गरेको छ । झापाली बिल्डर्सका सञ्चालक शेरबहादुर थापाले उद्योगको उत्पादन गुणस्तरहिन भएका कारण आफुले दोहोर्याएर काम गर्नुपरेको बताए । उनले गुणस्तरहिन निर्माण सामग्री उत्पादन गर्ने उद्योगमाथि कारवाहीको माग समेत गरेका छन् । सो उद्योगबाट उत्पादन भएको कार्पेटिङ जोडिएको हुँदैन । तर, त्यसमाथिबाट ‘सिलकोट’ थपेपछि केहीबर्ष नभत्किने निर्माण ब्यवसायीले बताएका छन् । बालुवामा अलकत्रा प्रयोग गरेर कालोपत्रेमाथि थप गर्ने कामलाई सिलकोट भनिने उनीहरुले बताएका छन् । ‘त्यसले कालोपत्रेलाई केही समय समाउँछ, ति निर्माण ब्यवसायीले भने–‘यस्तो सामग्रीले निर्माण गर्नु भनेको आाखामा छारो हाल्ने मात्र हो । दिर्घकालिन हुँदैन ।’
कसरी हुन्छ उत्पादन ? प्लाण्टमा गिटी, बालुवा र अलकत्रा मिसाएर प्रिमिक्स कार्पेटिङ तयार गरिन्छ । बिज्ञका अनुसार उद्योगले असन्तुलित ढंगबाट उत्पादन गरेका कारण गुणस्तरहिन सामग्री उत्पादन भएको हो । निर्माण ब्यवसायी समेत रहेका ओम पौडेलले कार्पेटिङ तयार गर्दा बालुवा प्रयोग नगरेका कारण यो समस्या आएको हो । बालुवा प्रयोग नगर्दा तेल कम प्रयोग हुने भएका कारण उत्पादकले गिटी र अलकत्रा मात्र चलाएको हुनसक्ने उनले बताए । गिटीमा मात्र अलकत्रा प्रयोग गर्दा नजोडिएको बताउँदै उनले उद्योगले छोटो समयमा धेरै पैसा कमाउन उद्योगले गुणस्तरहिन सामग्री उत्पादन गरेको बताए । उद्योगबाट उत्पादित सामग्री प्रयोग गरेका सबै सडक निर्माण नसकिंदै भत्किएको हो ।
उद्योगमा युवासङ्घको ताला गुणस्तरहिन सामग्री उत्पादन गरेर निर्माण क्षेत्रमा लापरवाही गरेको भन्दै युवासंघले कनकाइमा भएको सो प्लाण्टमा तालाबन्धी गरेको छ । युवा संघले गुणस्तरहिन सामग्री उत्पादन गरेर बर्तमान सरकारको काम कारवाहीलाई असफल पार्न खोजेको भन्दै प्लाण्टमा तालाबन्धी गरेको हो । युवा संघका केन्द्रिय सदस्य पर्वतराज भण्डारीले त्यहाँको सामग्री प्रयोग गरेर कालोपत्रे गरेका स्थानमा हातले नै उक्काउन सकिने खालको कमशल भएका कारण प्लाण्टमा तालाबन्धी गरिएको बताए । सो उद्योगबाट उत्पादित सामग्री प्रयोग गरेका सम्पुर्ण सडक गुणस्तरहिन भएको पाइएको उनले बताए ।
गुणस्तरहिन छैनः सञ्चालक प्लाण्टका सञ्चालक उपेन्द्र सिंहले उत्पादन गुणस्तरहिन भएको अस्विकार गरेका छन् । उनले निर्माणकर्ताले लापरवाहीपुर्ण ढंगले प्रयोग गरेका कारण कालोपत्रे उक्किएको हुनसक्ने बताए । ‘बेस कमसल बनाउनु भयो होला, तर हामीले उत्पादनमा सम्झौता गरेका छैनौ–‘सिंहले भने–‘कसैले हाम्रो उत्पादनको बदनाम गर्नका लागि गलत प्रचार गरेको हो ।’ झापाका प्रमुख जिल्ला इन्जिनियर शुसिल श्रेष्ठसमेत त्यस प्लाण्टका सञ्चालक भएका कारण गुणस्तरहिन सामग्री उत्पादन गर्ने प्लाण्टको सरकारी क्षेत्रबाट संरक्षण भएको युवासंघका केन्द्रिय सदस्य भण्डारीले बताए ।
