धरान । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसहित दुई सयजनाले पार्टी परित्याग गर्दै कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा प्रवेश गरेका छन् ।
केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङहाङको नेतृत्वमा पार्टी नेतृत्व तहका २ सयजना एकसाथ सङ्घीय लोकतान्त्रिकमा शुक्रबार प्रवेश गरेका हुन् । पार्टीमा प्रवेशसँगै उनीहरुलाई केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले सपथ ग्रहण गराएका छन् । धरान–१५ इजि राइडर्स होटलमा उनीहरूलाई सपथ ग्रहण गराइएको थियो ।
पार्टी परित्याग गर्दै प्रवेश गर्नेमा एलबी पन्धाक, मेजर झप्तमान लिम्बू, मेजर श्रवणकुमार लिम्बूलगायतका नेताहरू छन् । पार्टी प्रवेशसँगै अध्यक्ष लिङ्देनले स्वागत गर्दै पार्टीलाई मजबुत बनाउनका लागि सक्दो सहयोग गर्न आग्रह गरे । उनले प्रवेश गर्ने नेताहरूलाई उचित पद दिएर पार्टी अगाडि बढाउने बताए । उनीहरूलाई वार्ता समिति संयोजक एवम् पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरूङले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा केन्द्रीय सचिव तथा जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावती, जिल्ला अध्यक्ष अमर इजमलगायत नेताको उपस्थिति थियो ।