तेह्रथुम । जङ्गलमा पाकीसकेर कुहिएर जाने जङ्गली काँडादार फल ऐँसेलु बिक्री गरेर गाउँका कृषकले दुई महिनामा १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन् । जङगलमा टिपेको ऐँसेलु सङ्खुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डष्ट्रिजलाई बिक्री गरेर कृषकले यत्तिका रकम हात पारेका हुन् ।

स्वादिलो पेय पदार्थ वाइन बनाउन प्रयोग हुने कच्चा पदार्थ ऐँसेलु बिक्री गरेर लालीगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले २ लाख बढीको आम्दानी गरेको बताए । त्यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, बसन्तपुर, फुलेक, दागपा, काटेलगायतका स्थानीयले ऐँसेलु बिक्री गरेर ५० लाख भन्दा बढी भित्राएको बताउँछन् । यसैगरी धनकुटा मारेकटहरे माझखर्कका रुद्र गुरुङले मात्र दुई महिनाको अवधिमा गाउँलेले टिपेको ऐसेलु ट्याक्टरमा ढुवानी गराएर ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए । सङ्खुवासभाको तामाफोक ९ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, सङ्खुवासभा र धनकुटाका वासिन्दाका लागि ऐँसेलु बिक्री गरेर गाउँमा करोडौं रुपैयाँ भित्र्याउने माध्यम बनेको छ । यस वर्ष वैशाखको दोस्रो साताबाट जङ्गलमा फलेको ऐँसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक, लगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाख बढी रुपैयाँ गाउू भित्र्याएको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए । ऐँसेलुबाट उद्योगले ‘हिंवा’ ब्राण्डको वाइन उत्पादन गर्दै आएको छ । जङ्गलमा निशुल्क टिप्न पाइने ऐँसेलु प्रति केजी ५० रुपैयाँसम्ममा बिक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐँसेलुको व्यवसायिक खेतीसमेत शुरु गरेका छन् ।

बिचौलियाको पनि कमाइ गाउूलेले जङगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगलाई बिक्री गर्ने बिचौलीयालेसमेत दुई महिनाको अवधिमा लाखौँ कमाइ गरिरहेका छन् । परेवादिन ६ धनकुटाकी रिता भट्टराईले गाउू नजिकको जङ्गलमा टिपेको ऐँसेलु बिक्री गरेर यो सिजनमा ३५ हजार आम्दानी गरेको बताइन् । पछिल्ला वर्षहरूमा सामुदायिक वनले समेत ऐँसेलुको व्यवसायिक खेती गरिरहेका छन् । सामुदायिक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐँसेलु टिप्न पाइने गरेको परेवादिन धनकुटाका ऐँसेलु सङ्कलनकर्ता धनबहादुर कार्कीले बताए । ऐँसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐँसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत ललन यादवले बताए ।

गाउूलेले जङ्गलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन् । उनीहरुले गाउूलेसँग प्रतिकेजी ५० रुपैयाँमा ऐसेलु खरिद गरेर उद्योगलाई ६० रुपैंयाका दरले बिक्री गर्दै आएका छन् । गाउूलेले टिपेर ल्याएको ऐँसेलु केलाउने, डूममा हालेर घोल्ने, प्रशोधन गर्नेलगायतका काममा १ सय बढी युवा युवतीले रोजगार पाएका छन् । ऐँसेलुबाट सेतो रङको वाइन उत्पादन हुन्छ ।

ऐँसेलुको वाइन युरोपमा माग नेपाली समाजमा वाइन पिउने संस्कृति विस्तारै विकास हुँदै गएकाले जङ्गलमा खेर जाने फल ऐँसेलुको समेत खपत बढेको उद्योग सञ्चालक श्रेष्ठले बताए । जङ्गली वन पाखामा फलीसकेर त्यसै खेर गइरहेको ऐँसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपेली मुलुकबाट समेत माग आइरहेको उद्योगले जनाएको छ । तर जङ्गली फल ऐँसेलु मौसममा आधारित हुने भएकाले सधैँ एकैनासले उत्पादन हुँदैन । कच्चा पदार्थ ऐँसेलुको उत्पादनमै उतारचढाव भैरहने हुनाले मागअनुसार उत्पादन बजारमा पठाउन नसकिएको सञ्चालक श्रेष्ठको भनाइ छ ।

केही वर्ष अघिसम्म विदेशी वाइनले ओगटेको स्थानीय बजार अहिले पहाडी चिसो हावा पानीमा फलेको ऐँसेलुबाट तयार गरिएको वाइनले लिँदै गएको छ । वनपाखामा फलेको ऐँसेलु निशुल्क टिप्न पाइने भएकाले ऐँसेलु फल्ने क्षेत्रका विद्यालयका विद्यार्थीसमेत पढाइ छाडेर जङ्गल जाने गरेको सोल्मा काँडेका शिक्षक राम तामाङले बताए । दुई महिना ऐँसेलु खोजेर बिक्री गरेको पैसाले विद्यार्थीले विद्यालय पोशाक, कापी कलम, जुत्तालगायतका सामग्री जुटाउने गरेको शिक्षक तामाङले बताए । ऐँसेलुबाट उद्योगले अहिले वार्षिक १ लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ ।

श्रेष्ठका अनुुसार हिंवा वाइनमा १२ प्रतिशत भन्दा कम अल्कोहलको मात्रा छ । ऐँसेलुलाई केलाएर पेलेपछि इस्ट (मर्चा) राखेर फर्मेन्टेड (प्रशोधन) गरेपछि वाइन बन्छ । फलफूलमा हुने चिनीको मात्रा र थप चिनी मिलाएर फर्मेन्टेड गरेपछि अल्कोहलमा परिणत हुने श्रेष्ठले बताए । नेपालका पहाडी भुभागमा पाइने जङ्गली फल ऐँसेलुको सही सदुपयोग गर्न सकेमा मात्र पनि महँगा विदेशी वाइनलाई नेपाली वाइनले विस्थापित गर्ने उनले दावी गरे ।