बेलबारी । सफा र सुन्दर नगरको परिकल्पनासहित नगरपालिकाहरूले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै आएका छन् । नगरलाई सफा सुन्दर र स्वस्थ राख्न शौचालयको आवश्यकता पर्दछ । तर अधिकांश गाउँपालिका तथा नगरपालिकाका केही बजारहरु अझै पनि शौचालयविहीन छ । बजार क्षेत्रमा शौचालय नबन्दा विशेष गरेर व्यापारी र यात्रुहरुलाई प्रत्यक्ष असहज भइरहेको हुन्छ ।
बेलबारीको मुख्य बजारमा अहिले शौचालय छैन । शाही शासन कालमा स्थानीय शान्ति समितिमार्फत बनेको शौचालय जीर्ण भयो । सो शौचालय सडकको मापदण्ड भित्र परेपछि भत्काइयो । जीर्ण शौचालय पनि भत्केपछि अहिले बटुवा र बजार आउनेहरूको सहजताका लागि शौचालय छैन । बेलबारी बजारको सब्जी बजार छेउमा शौचालय भए पनि सवारी साधनबाट ओर्लने यात्रुहरुका लागि निकै टाढा पर्छ । सार्वजनिक शौचालय नहुँदा अधिकांश बटुवा होटलमा नास्ता खाने बहानामा शौच गर्न बाध्य छन् । व्यापारीलाई सार्वजनिक शौचालय नहुँदा समस्या परेको छ । अझै पनि सोमबारे बजारको दिन शौचालयको अभावका कारण लोहोन्द्रा पुलमुनी शौच गर्ने गर्दछन् । सप्तरीबाट राँगा लिएर आएका नियमन्त यादव भन्छन्, ‘यस ठाउँमा सार्वजनिक शौचालय नहुँदा काँसघारीमा जानुपर्छ ।’ अरु बेला स्थानीय व्यापारीको घरमा शौच गर्ने गरेको उनी बताउँछन् । नगरपालिकाले नगरलाई खुल्ला दिसामूक्त क्षेत्र घोषणा ग¥यो । चर्पी नभएका घरले सरकारी सेवामा पनि रोक लाग्ने नियम राखेको छ । यसले स्थानीयलाई खुल्ला दिसामूक्त क्षेत्रका लागि सहयोग पुगे पनि आगन्तुकका लागि सार्वजनिक शौचालय व्यवस्थापन नहुँदा सास्ती खेप्नु परेको व्यापारी बताउँछन् । बेलबारी नगरपालिकाले यसपटक शौचालय निर्माणको लागि दशलाख विनियोजन गरेको नगरका प्रवक्ता योगेन्द्र सुबेदी बताउँछन् । नगरपालिकाको वडा नं. १० भाउन्नेमा यात्रुहरुका लागि शौचालय बनाइएको र बेलबारी बजारको पशुहाटमा सार्वजानिक शौचालय बन्ने सुवेदी बताउँछन् । बेलबारी नगरपालिका वडा नं. २ स्थित शुक्रबारे बजारमा रहेको शौचालय पनि सडकको मापदण्ड भित्र परेर भत्किएपछि बजार शौचालयविहीन बनेको छ ।