बेलबारी । मोरङको बेलबारी नगरपालिका–३ मा रहेको सुन्दर टोल विकास समितिले इलाका प्रहरी कार्यालय बेलबारीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रहरी मेरो साथी’ भन्ने कार्यक्रमपश्चात् अहिले बेलबारीमा ‘टोलटोलमा प्रहरी’ अभियान थालिएको छ । लागु औषध न्युनीकरण, घरेलु हिंसालगायतका घटनालाई न्युनीकरणको विषयमा नागरिकसँग प्रहरीले छलफल गर्ने कार्यक्रम थालेको हो । कार्यक्रममा इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले समाज सुधारका गतिविधिमा स्थानीयको नै प्रमुख भूमिका रहने भएको हुँदा स्थानीय टोल विकास समितिका सदस्यहरुलाई जागरुक हुन अनुरोध गरेका थिए । साथै नागरिकको सहयोग बिना प्रहरीले अपराध न्युनीकरणमा असमर्थ रहेको बताउँदै प्रहरीसँग सहकार्यका लागि निरीक्षक राईले आह्वान गरे । कार्यक्रम स्थानीय टोल विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम टोल विकास समितिका अध्यक्ष अर्जुन राईको सभापतित्वमा सम्पन्न भएको थियो । समितिले टोलमा खानेपानी समस्याका विषयमा संस्थालाई ध्यानाकर्षण गराउने , विद्युतको आपूर्ति नियमित गर्न प्राधिकरणमा डेलिगेसन जानेलगायत टोलमा सरसफाइका कार्यक्रमहरु गरिसकेको छ ।