पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट पारित भएपनि वडातहका योजना सहितका बुँदागत निर्णयका लागि शनिवार गर्ने भनिएको नगरसभा असार २९ गतेका लागि सरेको छ । वडाबाट योजनाहरु छनौट हुने क्रम केही वाँकी रहेकाले शनिवार गर्ने भनिएको नगरसभा कार्यपालिका वैठकले २९ गतेका लागि सारिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । असार १० गतेको तेस्रो नगरसभाले ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको थियो । वडाका लागि ८५ लाखको बजेट सिलिङ तोकिएको थियो । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गर्नुभएको थियो । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ । सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरिवसंग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित वजेट रहेको छ । सशर्त वाहेकको सवैगरी ३० करोड ९१ लाख ३५ हजार मध्ये ९ करोड २१ लाख २० हजार चालु खर्चमा छुट्याई वाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकासमा वाँडफाँड गरिएको वजेट विवरणमा उल्लेख छ । त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले ८ करोड ५० लाख तथा वाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शिर्षकमा वजेट विनियोजन गरिएको कुरा सभामा पेश भएको थियो ।