रंगेली । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक,यातायत व्यवसायी,उद्योगी लगायत सरोकार सम्बद्धहरु संग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।

जसका लागि विराटनगर स्थित ट्राफिक चोकदेखि जलजलामोड सम्म मेनरोडमा दुवै तर्फ पार्किङ्ग निषेध गरिनुका साथै ए प्लट , वि प्लट र नमस्कार होटल अगाडीको भागमा पार्किङ्ग गर्न दिइने, बुधहाटचौक हनुमान मन्दिर देखि जलजला मोडसम्म लाग्दै आएको वान वे मा दुइपांग्रे सवारी साधनलाई आवज जावतमा खुल्ला गरिने भएको छ । यस्तै अन्य सवारीसाधनको हकमा वान वे यथावत रहने छ ।

यस्तै वडाप्रहरी कार्यालय ‘क’ देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङ्गको व्यवस्था गरिने निर्णय गरिएको छ ।

कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले ट्राफिक संगको सहकार्यमा महानगरले जनमुखि कार्यलाई निरन्तरता दिने बताए । उनले महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्ण कार्यन्वयनमा ल्याउने जानकारी दिए ।

यस्तै कार्यक्रममा जिल्ला ट्राफिकका प्रमुख शिब पोखरेलले ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन लागेको बताए । पोखरेलले जिल्लाभरि ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अगाडी वढने बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा ,उद्योगी नविन रिजाल ,जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक निशान थापा ,विराटव्यपार संघका सुजन थापा, पूर्व नेपाल यातायत व्यवसायी महानसंघका धर्मदेव साह लगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिएका थिए ।