बिर्तामोड । झापाको अर्जुनधारा–८ निवासी अमिता रिजाल गौतमले केही दिन अघि निधन भएका आफ्ना ससुराको काजकिरीया गर्नबाट वञ्चित भएकी छन् ।
असार २१ गते ससुरा खड्गप्रसाद गौतमको निधन भएको खबर थाहा पाएपछि काजकिरीया गर्न घरमा आएकी उनलाई श्रीमान् तिलक गौतमसहित परिवारका सदस्यहरुले गालीगलौज र दबाबसँगै हातपात गरेपछी काजकिरीया गर्नबाट वञ्चित हुनुपरेको हो ।
परिवारसँगको सम्बन्धमा समस्या भएका कारण विगत छ महिनादेखि मेचीनगर–१० स्थित डेराघरमा दुइजना छोरीे लिएर उनी बसोबास गर्दै आएकी छन् । गौतम सोही डेराघरमा बसेर ससुराको काजकिरीया गर्दै आएकी छन् ।
ससुराको अन्त्येष्टी गर्ने दिन असार २२ गते भेला भएको मलामीहरुको अगाडी श्रीमान् तिलक, मामाससुरा विष्णु बाँस्तोला, आमाजु दिदि रोजी नेपाल, आमाजु दाजु जीवन सुवेदीले मौखिकरुपमा आफ्नो अधिकार नभएको भनेको र भान्जा विराज सुवेदीले आफूलाई कुटपिट गरेको पीडित अमिताले जानकारी दिएकी छन् । अन्त्येष्टी स्थल कनकाई नगरपालिकाको कनकाई नदी तटमा परिवारको साथमा जानबाट समेत उनलाई गौतम परिवारले रोक लगाएको थियो । तर, उनले भाई अमर रिजालको साथमा घाट गएर अन्तेष्टी कार्यमा सहभागी भएकी थिइन् ।
बुहारीलाई आफ्नै घरमा ससुराको काजकिरीया गर्नबाट वञ्चित गरिएको विषयमा सो वडा र छिमेकी बुद्धशान्ति गाँउपालिका–२ स्थित जयपुरका बासिन्दा आक्रोशित भएका छन् । विगतमा पनि गौतम परिवारबाट बुहारी अमितालाई चरम हिंसा गरिएको जानकारी गराउँदै स्थानीयहरुले परिवारका साथमा बसेर काजकिरीया गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
गौतम परिवारले बुहारी अमिताको लागि सो वातावरण नबनाए आफूहरुले उक्त परिवारलाई कानूनीरुपमा नमिले पनि सामाजिकरुपमा बहिष्कार गर्दै अमिताको लागि आवश्यक न्याय दिलाउन लागिपर्ने घटनाका प्रत्यक्षदर्शी एवम् स्थानीय भीम श्रेष्ठले बताए ।
घरेलु हिंसा, माना चामल, छल कपट र अंश लगायतका विषयमा अदालतमा चलिरहेको मुद्धा नै सो घटनाको मुख्य कारण हुनसक्ने पीडित अमिताको अनुमान छ । यता यस विषयमा वडाध्यक्ष गोपीचन्द्र गौतमसँग बुझ्दा उनले पटक–पटक अमिताको परिवारलाई घरमै काजकिरीया गर्न लगाउनु भन्दा श्रीमान् तिलकले सो विषयलाई अस्विकार गरेको बताए । “जहाँ गएर गर्छ गरोस्, ‘मसँग बसेर बाबुको किरिया गर्न पाउँदैन”–श्रीमान् तिलकलाई उद्धरीत गर्दै वडाध्यक्ष गौतमले भने ।
यसैबीच ससुराको काजकिरीया गर्न घरको बुहारीलाई वञ्चित गर्ने गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक वहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी अमितालाई घरमै काजकिरीया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।
ससुराको निधन भएको खबर पाएर काजकिरीया गर्न घरमा पुगेकी अमितालाई श्रीमान् तिलक सहित परिवारका सदस्यहरुले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरीया गर्न वञ्चित गरेपछी स्थानीयहरु गौतम परिवारप्रति आक्रोशित भएको थियो ।
अमिता किन डेरामा ?
पीडितका अनुसार गत पुस नौ गते नातेदार समेत रहेका वडाध्यक्ष गोपीचन्द्र गौतमको सामुन्ने उनलाई ससुरा खड्गप्रसाद, सासु चन्द्रकला र घरेलु कामदारकारुपमा रहेका महिलाद्धय करुण खुलाल र जमुना खड्काले विना कारण कुटपिट गरेका थिए ।
कुटपिटको तीन दिनपछी बिर्तामोडमा रहेको एक हस्पिटलको बेडमा आफुलाई पाएकी उनलाई श्रीमान् तिलकले विष खाएको हुँदा हस्पिटल ल्याएको जवाफ दिएका थिए । तर उनले आफुलाई सो दिन कुटेर बेहोस भएको अवस्थामा विष खुवाइएको दावी गरेकी छन् ।
हस्पिटलमा १८ दिनको बसाईपछी घर जाँदा आफ्नो ज्यानको सुरक्षा नहुने हुँदा उनी आफ्नो माइतीको संरक्षणमा धुलाबारीस्थित डेरामा बस्न पुगेकी हुन् । सोहीक्रममा उनले श्रीमान् र परिवारविरुद्ध घरेलु हिंसा, माना चामल, छल कपट र अंश लगायतका विषयमा जिल्ला अदालत झापामा मुद्धा दर्ता गराएकी थिइन् । त्यो मुद्दा अदालतमा बिचाराधिन अवस्थामा रहेको उनले बताइन् । मुद्दा हालेका कारण गौतम परिवारले उनलाई घरमा बस्न नदिएको हो ।