बिर्तामोड । दक्षिणी झापाको रानी सामुदायिक वन समुहमा रहेको पोखरीलाई प्रदेशनम्बर १ कै ठुलो सिमसार क्षेत्र बनाइने भएको छ ।
झापा गाउँपालिकामा शनिवार आयोजित बृहत्तर विकास सम्बन्धि कार्यक्रममा सामुदायिक वनलाई पर्यापर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाइने जानकारी दिइएको हो ।
१०४ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनमा हालपनि १५ हेक्टर क्षेत्रमा सिमसारयुक्त पोखरी रहेको र पोखरीमा माछापालन गरिएको रानी सामुदायिक वन समुहका सचिव भवेन्द्र भण्डारीले बताए । कार्यक्रममा वनमा लोपोन्मुख सन्थाल जातिको संस्कृति झल्कने कलाकृति र नाचगान प्रस्तुत गरिने तथा नेपालमै पहिलो संन्थाल होमस्टेको रुपमा विकसित गरिने भएको छ ।
झापा गाउँपालिका नेपालमै बढी सन्थाल बस्ती भएको गाउँपालिका समेत भएको गाँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकै एकमात्र सामुदायिक वनलाई काठ दाउरा भन्दापनि पर्यापर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न पिकनिक स्पर्ट, भ्यु टावर, जडीबुटी खेती, चिडियाघर लगायातको क्षेत्रका रुपमा बिकसित गदै लैजान गुरु योजना सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद एलपी साँबा लिम्बु, प्रदेशसभा सदस्य हिराकुमार थापाले यस क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न केन्द्र र प्रदेश सरकारले पहल गर्ने बताए । कार्यक्रममा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले पर्यटकीय क्षेत्रका रुपमा अगाडि वढाउन उद्यमी व्यावसायीले समेत सक्दो सहयोग गर्ने बताए ।