बिर्तामोड । बिर्तामोडको विएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले आइतबार कालो झण्डा गाडेको छ । एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा हस्पिटलका निर्देशक दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद जनाउँदै महिलाले विरोध गरेका हुन् । प्रर्दशनमा उत्रिएका महिलाले हस्पिटलको प्रवेशद्वारमा कालो झण्डा गाडेर प्रर्दशन गरेका हुन् । उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईले तथ्यहीन कुरा बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग समेत गरे । महिला संघले आइतबार नै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । प्रसाईलाई कारबाही नभए कडा आन्दोलनमा जाने नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकालले बताइन् । प्रसाईले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरुको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए । सो भिडियो एक्कासी भाइरल भएपछि महिला संघ विरोधमा उत्रिएको हो । यसैगरी बंगलादेशमा एमविविएस अध्ययन गर्न गएका युवतीको बिषयमा प्रसाइले दिएको बिवादास्पद अभिब्यक्तिको कोचिला महिला फ्रन्टले पनि कडा बिरोध गरेको छ । फ्रन्टले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै बिएण्डसीका सञ्चालक प्रसाइलाई कडा कारवाही गर्न माग पनि गरेको छ । प्रसाइको अभिब्यक्तिले बंगलादेशमा अध्ययन गर्ने छात्रा तथा तिनका परिवारमा गम्भिर मानसिक आघात पुगेको अध्यक्ष सनम राजबंशीले पत्रकार सम्मेलनमा बताइन् । उनले यस्तो अभिब्यक्ति जो कोहीले दिएको भएपनि अपराध गरेको फ्रन्टको धारणा रहेको बताइन् । प्रसाईलाई पक्राउ गरी कारवाही गर्न उनले माग गरिन् । यसैबीच नेपाल मानवअधिकार प्रतिष्ठानले बिज्ञप्ति प्रकाशित गर्दै प्रसाइको अभिब्यक्तिको आलोचना गरेको छ । प्रसाइको अभिब्यक्तिले बंगलादेशमा अध्ययन गर्ने युवतीको अस्मितामाथि धावा बोलेको हुनाले उनलाई कारवाहीको माग गरिएको छ । प्रतिष्ठानका केन्द्रिय सदस्य रुपक खनालले जारी गरेको बिज्ञप्तिमा बंगलादेशमा अध्ययन गर्ने युवतीको अपमान गरेको ठहर गरिएको छ । लगभग एकबर्ष पहिले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बिएण्डसीका सञ्चालक प्रसाइले बंगलादेशमा अध्ययन गर्ने युवती यौनहिंसाको शिकार हुने गरेको बताएका थिए । प्रसाइको अभिब्यक्तिको भिडियो पत्रकार लक्ष्मी काफ्लेले युट्युवमा अपलोड गरेका थिए । त्यसबेला यस भिडियो र प्रसाईको अभिब्यक्तिको बारेमा कसैले पनि बिरोध जनाएको थिएन । हाल त्यसलाई सम्पादन गरेर छोटो बनाउँदै सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रसाईको तिब्र आलोचना शुरु भएको हो । प्रसाई सञ्चालक भएको बिर्तामोडको बिएण्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउने तरखरमा छ । सम्बन्धनको बिरोध गर्दै डाक्टर गोविन्द केसी तीनसातादेखि आमरण अनसनमा छन् । केसीको अनसनलाई प्रमुख बिपक्षी दल नेपाली काङग्रेसले आन्दोलनको मसला बनाइरहेको बेला यो भिडियो भाइरल भएको हो ।