दमक । धिमाल जातिको पहिचान झल्काउने होमस्टेको उचित व्यवस्थापन र प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । होमस्टेलाई धिमाल मौलिक घरका रूपमा विकास गर्न नसक्दा र मुख्य सडक क्षेत्रमा बोर्डसहितको प्रचार–प्रसार र तालिमको व्यवस्थापन हुन नसक्दा होमस्टे खस्किँदो अवस्थामा पुगेको छ । पहिले प्रत्येक घरमा महिनामा १५–२० जना मानिस पाहुनाका रुपमा आउने गर्थे । तर, त्यो सङ्ख्या घट्दै ८–१० जनामा झरेको छ । होटलहरू थप व्यवस्थित बन्दै गएको अवस्थामा होमस्टेलाई प्रचार–प्रसारको अभावमा प्रभावकारी बनाउन नसक्दा ओझेलमा परेको होमस्टे सञ्चालक मध्येका जय धिमालले बताए । होटल व्यवसायी सङ्घ माईपश्चिम दमकका अध्यक्ष राजन दङ्गालले प्रचार–प्रसारको अभावका कारण धिमाल होमस्टे कहाँ–कहाँ छ भन्ने बारेमा जानकारी नभएको बताए । उनले होमस्टे व्यवस्थापनमा स्थानीय तहले विशेष जोड दिनुपर्ने बताए । दमकका होटलमा ७० ओटा लजमा वर्षाबाहेकका समयमा दैनिक २ सयसम्म पर्यटकले बास बस्ने तथ्याङ्क रहेको दङ्गालले बताए । ०७४ असोज ३० गतेको प्रथम नगरसभाले ‘प्रथम नागरिक’ घोषणा ग¥यो । दमक नगर प्रमुख रोमनाथ ओलीले होमस्टेलाई व्यवस्थित गर्नेसहितका प्रवद्र्धनात्मक कार्यक्रमका लागि नगरपालिकाले सघाउने योजना रहेको बताएका थिए । नगरपालिकाको पशुपंक्षी शाखाले यसबेला धिमाल बस्तीका ४० घरमा २५ ओटाका दरले १ हजार लोकल कुखुराको चल्ला प्रदान गरेको छ । प्रदेश सरकारसँग धिमाल जातिको प्रवद्र्धनात्मक गतिविधिका लागि गौरवका ५ वटा योजना उल्लेख गरेर सङ्घ र प्रदेश सरकारलाई गुहार्ने दमक नगरपालिकाका पूर्व नगर उपप्रमुख लोकबहादुर धिमालले बताए । दमकमा धिमाल संस्कृति सङ्ग्रहालयका लागि पर्यटन मन्त्रालयबाट ७० लाखसहित प्रदेश र नगरपालिका समेत गरी १ करोड हाराहारीको योजना बनेको उल्लेख गरे । धिमाल होमस्टे भएकै वडा क्षेत्रमा भ्यू टावर, संसारकै अग्लो बुद्ध प्रतिमा पनि निर्माणका क्रममा रहेकाले पर्यटकीय क्षेत्रका रूपमा सो वडालाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ । तारा गाउँ विकास समिति नामक संस्थाले पूर्वको अध्ययनका क्रममा दमकको पुरानो वासिन्दा धिमाल जातिको पहिचान झल्काउँदै धिमाल होमस्टे सञ्चालनको सुझाव दिएको थियो । जसअनुरूप उसले २ दिने सामान्य प्रकारको तालिम दिएपछि सन् २०११ मा हालको दमक ३ मा पर्ने दोघरेका १० धिमाल घरमा होमस्टे सञ्चालन शुरु भएको थियो । सोही वर्ष धिमाल महोत्सव सञ्चालन गरी होमस्टेको पनि प्रचार–प्रसार गरिएको ‘प्रथम नागरिक सामुदायिक धिमाल होमस्टे’ का अध्यक्ष हरिलाल धिमाल बताउँछन् ।